काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद् र समितिमा क्रमशः एक्लिँदै गएको छ। खासगरी भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको अडानले उनीहरूलाई विपक्षमै पनि अलग बनाएको छ। तर प्रश्न उठ्छ—रास्वपा साँच्चिकै न्यायको पक्षमा एक्लो लडाइँ लडिरहेको हो, कि उनीहरूको राजनीतिक शैली र दृष्टिकोणले उनीहरूलाई अरूसँगको सहकार्यबाट अलग बनाएको हो ?
रास्वपा नयाँ शक्ति भनेर स्थापित भए पनि त्यसको व्यवहार भने पुराना राजनीतिक प्रवृत्तिभन्दा धेरै फरक छैन भन्ने टिप्पणीहरू भइरहेका छन्। आफ्नो एजेन्डामा कठोर अडान, अरू दलप्रति अविश्वास, राजनीतिक संवादभन्दा मिडियामै बढी अभिव्यक्तिको झुकावले उनीहरूलाई संस्थागत रूपमा अलग बनाउँदै लगेको देखिन्छ।
यो प्रवृत्ति भर्खरै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा झल्कियो, जहाँ सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा सांसदहरू निरीह छन्ू भन्ने भनाइ राखेपछि बैठक नै रडाकोमा परिणत भयो। सत्ता पक्ष मात्र होइन, विपक्षी माओवादी र समाजवादी सांसदहरू समेत पराजुलीविरुद्ध आक्रोशित बने।
रास्वपाले गृहमन्त्रीको राजीनामाको माग फिर्ता लिँदै पनि छानबिन समिति गठनमा अडिग रहँदा, दलहरूबीच बनिसकेको सहमतिलाई तोड्न खोजेजस्तो देखियो। नतिजा—सदन चल्न सकेन, न त समितिमा प्रस्ताव अगाडि बढ्न सक्यो। समितिमा सभापतिलाई समेत लक्षित गरेर प्रश्न उठाउनु र ‘छानबिन समिति बनाउने’ भनाइपछि थप सांसदहरू आक्रोशित भएका थिए। अन्ततः, बैठक निष्कर्षविहीन रुपमा टुंगियो।
रास्वपा आफैंलाई अख्तियारको प्रतीक जस्तो प्रस्तुत गर्दै आएको छ, तर यो नै उनीहरूको कमजोरी बन्न थालेको छ। एउटै मुद्दामा बारम्बार कठोर भाषा, र कुनै पनि दलको सहभागिता बिना हामी मात्र सही भन्ने ढंगले प्रस्तुत हुँदा उनीहरूको आवाज गुञ्जिए पनि गम्भीरतापूर्वक लिइँदैन भन्ने धारणा बढ्दो छ।
एकीकृत समाजवादीका सांसद श्रेष्ठको भनाइ— हामीले पनि विरोध गरेका छौं, तपाईं मात्र ठेकेदार होइन —यही संकेत गर्छ। यसको अर्थ हो, रास्वपा आलोचना गर्न त सक्ने ठाउँमा छ, तर समाधान खोज्ने साझा प्लेटफर्ममा उभिन सकिरहेको छैन। राजनीतिमा अलग धारणा राख्नु अस्वाभाविक होइन। तर, जब तपाईं बारम्बार आलोचना मात्र गरिरहनुहुन्छ र संस्थागत छलफलमा सहभागी हुने लचकता देखाउनुहुन्न, तब तपाईंलाई एक्लिएको होइन एक्ल्याएकोु हुनसक्छ भन्ने प्रश्न उठ्छ।
रास्वपाको अहिलेको एक्लोपन गम्भीर राजनीतिक आत्ममूल्यांकनको संकेत हुनसक्छ—किनकि संसद् र समितिमा केवल नारा र हल्लाले होइन, सहकार्य र संवादले मात्र परिणाम दिन सक्छ।रास्वपा बहसको केन्द्रमा त छ, तर सन्देश सम्प्रेषणमा उस्तै शैली, संवादहीनता र आत्मकेन्द्रित प्रस्तुतिले उनीहरूलाई प्रभावशाली पार्टी बाट अलग गुट जस्तो देखाउँदै लगेको छ। लोकतान्त्रिक प्रक्रियामा आवाज उठाउनु मात्र होइन, अरूलाई समेटेर अघि बढ्नु पनि उत्तिकै आवश्यक छ—जुन अहिलेको रास्वपाले सिक्न बाँकी देखिन्छ।




