काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युतीय मेसिनमार्फत हुने जनाएको छ।
महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुंगेलका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भइसकेको छ र मेसिनमा उम्मेदवारका नाम राख्ने प्रक्रिया पूरा गरिएको छ।
अध्यक्ष पदका लागि प्रकाश पौडेल र डा. सुजन कँडरियाले उम्मेदवारी दिएका छन्। खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी र गणेशबहादुर शाही प्रतिस्पर्धामा छन्। महिला उपाध्यक्ष पदमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराई उम्मेदवार छन्। महासचिव पदमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन्।
निवर्तमान अध्यक्ष समिक बडालले छरितो र पारदर्शी निर्वाचनका लागि विद्युतीय प्रणाली अपनाइएको जानकारी दिए। राम–लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालका अनुसार निर्वाचनमा ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ।
महाधिवेशनमा १,५४३ जना प्रतिनिधिले मतदान गर्नेछन्। हाल विभिन्न पदमा ५१९ जना उम्मेदवार छन् र एक जनालाई मतदानमा १५–२० मिनेट लाग्ने अनुमान गरिएको छ। अनेरास्ववियुमा पहिलोपटक ३२ वर्ष उमेर हद अनुसार निर्वाचन भइरहेको हो। महाधिवेशन यही जेठ २५ गतेदेखि सुरु भएको हो।




