राजनीति

 एकीकृत समाजवादीको अडान : षड्यन्त्रको भण्डाफोर गर्छौं, अदालतबाट चोखो भएर फर्कन्छौं

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दालाई नेकपा एकीकृत समाजवादीले “राजनीतिक प्रतिशोध र योजनाबद्ध षड्यन्त्र” को संज्ञा दिएको छ। पार्टीले बिहीबार अपरान्ह अध्यक्ष नेपालको उपस्थितिमा बैठक बसेर औपचारिक रूपमा आफ्नो अडान सार्वजनिक गरेको हो।

पार्टी उपाध्यक्ष प्रकाश ज्वालाले भने, “अध्यक्षविरुद्धको मुद्दा तथ्यविहीन र नियोजित हो। हामी यो झूटा आरोपलाई अदालतबाट खारेज गराएर चोखो भएर फर्किनेछौं।”

उपाध्यक्ष ज्वालाले अघिल्ला दिनहरूमा पनि पार्टी नेताहरूविरुद्ध यस्ता “राजनीतिक हमला” हुने गरेको स्मरण गर्दै यसपटकको मुद्दा पनि त्यही प्रवृत्तिको निरन्तरता भएको बताए। “हाम्रा नेताहरू पहिल्यैदेखि निशानामा परेका छन्। यो फेरि अर्को अध्याय हो, हामी यसको प्रतिवाद गर्छौं,” ज्वालाको भनाइ थियो।

एकीकृत समाजवादीले अध्यक्ष नेपालले कुनैपनि बेला सार्वजनिक सम्पत्ति दुरुपयोग नगरेको उनीमाथि लगाइएका आरोप निराधार भएको भन्दै विश्वासका साथ अदालत जाने तयारी रहेको उल्लेख गरेको छ । एकीकृत समाजवादीले अध्यक्षविरुद्धको मुद्दालाई राजनीतिक पूर्वाग्रहको परिणाम भएको भन्दै आत्मविश्वाका साथ अघि बढ्ने बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *