काठमाडौं । राजसंस्थाको विषयमा पुनः चर्किएको बहसबीच विश्व हिन्दु महासंघले सशक्त र स्पष्ट सन्देश दिदैँ राजा बन्ने पात्रता वंशले होइन, गुण र गरिमाले तोकिने बताएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई भावी राजा बनाउने प्रस्तावलाई लक्ष्य गर्दै महासंघले गम्भीर प्रश्न उठाएको हो । महासंघले एक विज्ञप्ती जारी गर्दै राजा भन्नाले केवल वंशानुगत अधिकार मात्र नहुने उल्लेख गरेको छ ।
राजावादी आन्दोलनको नेतृत्व गरिरहेका राप्रपा र राप्रपा नेपालका नेताहरूले हृदयेन्द्रलाई वैकल्पिक नेतृत्वका रूपमा अघि सारिरहेका छन्। तर महासंघको नजरमा उनीहरू ‘राजा’ बन्न आवश्यक राजकीय गम्भीरता, समावेशी सोच र लोकप्रियता पाउन चुकिरहेका छन्।
महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीका अनुसार राजा भनेको सिङ्गो राष्ट्रको साझा प्रतिनिधि हो। अहिले अघि सारिएका व्यक्तिहरू भने सानो झुन्डमा ‘लन्च मिटिङ’ गर्ने स्तरका नेतामात्र देखिन्छन्। उनले प्रश्न गरेका छन्—“पाँच प्रतिशत जनताको प्रतिनिधित्व गर्नसमेत असजिलो देखिएको व्यक्तिले के सिङ्गो देशको राजा बन्न सक्छ?” राजा बन्ने पात्रता केवल भावनाले होइन, व्यवहार र इतिहासले बनाउने उनले बताए।
विश्व हिन्दु महासंघले धर्म र राजसंस्था फरक विषय भएको स्पष्ट पारेको छ । हिन्दु धर्म जनताको श्रद्धा र संस्कृतिसँग जोडिएको स्थायी आधार भएकाले राजा राजनीतिक संस्था हो, जुन समयसँगै परिवर्तनशील हुन्छ। त्यसैले ‘हिन्दु राष्ट्र’ को बहसलाई राजसंस्थाको बहससँग जथाभावी नजोड्न महासंघले चेतावनी दिएको छ।
चैत १५ को तीनकुने घटना : शान्तिपूर्ण भनिएको प्रदर्शन आन्दोलनको हिंसामा परिणत
राजावादीहरूले २०८० सालको चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा गरेको प्रदर्शनले आन्दोलनको असली स्वरूप उजागर गर्यो। प्रदर्शन हिंशात्मक भएपछि अवस्था सामान्य बनाउन प्रहरीले बल प्रयोग गरेको थियो, झडप र सार्वजनिक सम्पत्तिमा क्षति भएको थियो। दर्जनौं प्रदर्शनकारी घाइते भए भने केहीलाई पक्राउसमेत गरिएको थियो। प्रहरीले मुद्दा अघि बढाउँदै केही प्रदर्शनकारीविरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड तथा अशान्ति फैलाएको आरोपमा अनुसन्धान अघि बढाएको छ। सो कार्यक्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु समेत भएको थियो ।
यस घटनाले जनशक्ति बटुलेर भावनामा खेल्ने आन्दोलनले कानुनी सीमा पार गर्दा मुलुकलाई कस्तो स्थिति भोग्नु पर्छ भन्ने सावित गर्यो। महासंघले आन्दोलनप्रति विरोध नजनाए पनि स्पष्ट भनेको छ—“जो आन्दोलनमा जान्छ, उसैले त्यसको जिम्मेवारी पनि लिनुपर्छ।” राजनीतिक उद्देश्यमा धार्मिक भावनाको प्रयोगले समुदायभित्र द्वन्द्व बढ्न सक्ने र सामाजिक सद्भाव खल्बलिने चेतावनी पनि विज्ञप्तिमा समेटिएको छ।
राजसंस्था पुनर्स्थापना जस्तो गम्भीर विषय भावनामा होइन, विवेक र वस्तुस्थितिमा आधारित हुनु पर्छ भन्ने सन्देश विश्व हिन्दु महासंघले दिएको छ। राजा बन्न चाहनेहरूसँग प्रश्न छ—के तपाईं साँच्चै साझा राष्ट्र नेतृत्व गर्न सक्ने योग्य हुनुहुन्छ? कि केवल आफ्नो झुन्ड का राजा बन्न खोजिरहनु भएको हो ? जनताले धर्म र राजसंस्थाबीचको भिन्नता बुझेका छन्। अब नेतृत्व गर्ने आकांक्षा राख्नेहरूले पनि बुझे हुन्छ—वास्तविक नेतृत्व व्यक्तित्व, चरित्र र जनसमर्थनबाट बनिन्छ, केवल वंशज हुनु पर्याप्त हुँदैन, महासंघले भन्यो ।




