राजनीति

मधेश प्रदेश सांसद सरोज सिंह कुशवाहाको घरमा अख्तियारको छापा, योजनासम्बन्धी कागजात बरामद

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश सांसद सरोज सिंह कुशवाहाको निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। महोत्तरी ४(ख) बाट निर्वाचित सांसद कुशवाहाको जनकपुरस्थित घरमा गरिएको छापामारीमा अख्तियारले योजनासम्बन्धी कागजातहरू नियन्त्रणमा लिएको छ।

छापासँगै कुशवाहाका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । सांसद कुशवाहा भने घटनापछि सम्पर्कविहीन बनेका छन्। मधेश प्रदेश सरकारमार्फत सांसद कुशवाहाको भागमा परेको विकास योजना बिक्री गरिएर घूस लेनदेन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा अख्तियारले छापा मारेको हो। अनुसन्धानकर्ताहरूले योजनासम्बन्धी दर्जनौँ कागजात नियन्त्रणमा लिएको जनाइएको छ।

कुशवाहा यसअघि मधेश प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीका रूपमा कार्यरत थिए। हाल उनी दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्य छन्। अख्तियारको अनुसन्धानका क्रममा सहयोग नगरेको भन्दै स्वकीय सचिव कायस्थलाई नियन्त्रणमा लिइएको हो। स्रोतका अनुसार सांसद कुशवाहाले आफू सम्पर्कमा नआएकाले अनुसन्धान प्रक्रिया प्रभावित भएको छ।

छापा मारिएको स्थानबाट संकलित कागजातका आधारमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। योजनाको नाममा सरकारी स्रोतको दुरुपयोग भएको आशंकामा अन्य व्यक्तिहरूलाई पनि अनुसन्धानको दायरामा ल्याइने तयारी भइरहेको स्रोतको भनाइ छ। यस प्रकरणले प्रदेश स्तरमा योजनाको नाममा हुने सम्भावित भ्रष्टाचारप्रति गम्भीर प्रश्न उठाएको छ। अख्तियारले भने छानबिन प्रक्रिया कानुन बमोजिम अगाडि बढाइने जनाएको छ।

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *