काठमाडौं । झण्डै एक दशकपछि गंगानारायण श्रेष्ठ माओवादी राजनीतिमा पुनः सक्रिय भएका छन्। नेपाल समाजवादी पार्टी (नेसपा)का नेता रहेका श्रेष्ठ सोमबार ललितपुरमा आयोजित पार्टी समायोजन कार्यक्रममार्फत पुनः नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टीमा पुनःगठनसँगै उनी केन्द्रीय सचिवको जिम्मेवारीमा नियुक्त भएका छन्।
२०७२ साल असोज ९ गते डा। बाबुराम भट्टराईसँगै माओवादी परित्याग गरेका श्रेष्ठ त्यसबेलाको पोलिटब्युरो सदस्य थिए। १० वर्षपछि पुरानै संगठनमा फर्किंदै उनले उच्च तहको जिम्मेवारी पाएका हुन्। श्रेष्ठको पुनः आगमनसँगै माओवादी केन्द्रका सचिवहरूको संख्या आठ पुगेको छ।
यसअघि पार्टीका सचिवहरूमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोख्रेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे तथा डिलाराम आचार्य रहेका थिए। अब श्रेष्ठ पनि यस सूचीमा थपिएका छन्।
पार्टी समायोजनको औपचारिक कार्यक्रम ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा सम्पन्न भयो, जहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रेष्ठले संयुक्त रूपमा पाँच बुँदे सहमतिको दस्तावेजमा हस्ताक्षर गरे।
सम्झौताअनुसार श्रेष्ठले केन्द्रीय सचिवको जिम्मेवारी पाउनेछन् भने अन्य साथीसाथीहरूलाई पनि संगठनभित्र ‘सम्माजनक जिम्मेवारी’ प्रदान गरिने उल्लेख छ। साथै, पार्टीको मार्गदर्शक विचारधारामा मार्क्सवाद–लेनिनवाद–माओवादलाई कायम राखिनेछ।
समाजवादी क्रान्तिका लागि पार्टीले सडक, सदन र सरकार तीनवटै मोर्चामा संघर्ष जारी राख्ने बताइएको छ। तत्कालीन नीतिगत निर्णयहरू आपसी सहमतिमा तय गरिने र कतिपय वैचारिक विषयवस्तुहरू आगामी महाधिवेशनसम्म छलफलमा राखिनेछन्।
श्रेष्ठ नेतृत्वको टोलीसँग २०८० जेठ ३ गते माओवादी केन्द्र र नेसपाबीच एकताको सहमति भए पनि पार्टी अध्यक्ष महेन्द्र राय यादवले सक्रियता नदेखाएको भन्दै श्रेष्ठ एक्लै अघि बढेर माओवादी केन्द्रमा फर्किएको स्रोतको दाबी छ।




