काठमाडौं । नेकपा एमालेले अनेरास्ववियुमा ३२ वर्ष उमेर सीमा लागू गर्ने निर्णय गरेपछि संगठनको नेतृत्वमा ठूलो फेरबदल हुने पक्का भएको छ। च्यासलमा बसेको पार्टी सचिवालय बैठकले आगामी २५–२८ जेठमा कीर्तिपुरमा हुने महाधिवेशनबाटै यो सीमा लागू गर्ने निर्णय गरेको हो।
उमेर हद पार गरिसकेका उपाध्यक्ष धर्म गिरी, मर्यादा बिष्ट, नारायण घर्ती, गोविन्द गिरी, महासचिव नरेश रोकाया तथा सचिवहरू मनोज ताम्ली, सञ्जीव धिताल, आशिर्वाद सुवेदी र विनिता काफ्ले स्वतः संगठनबाट बाहिरिने छन्।
उता ३२ वर्ष नपुगेका दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई र अञ्जना सिवाकोटी भने नयाँ नेतृत्वका स्वाभाविक दावेदारको रूपमा अघि बढ्नेछन्।
पार्टी सचिव योगेश भट्टराईले उमेर हद अर्को महाधिवेशनबाट लागू गर्ने प्रस्ताव गरे पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिलेबाटै लागू गर्नुपर्ने अडान राख्दै त्यो प्रस्ताव अस्वीकार गरे।
यो निर्णयले अनेरास्ववियुमा नयाँ पुस्ता ल्याउने एमालेको रणनीतिक इच्छाशक्ति झल्काउँछ भने संगठनमा लामो समयदेखि जमेका नेताहरूको युग अन्त्य गर्ने संकेत पनि दिन्छ।




