काठमाडौं । कांग्रेस र एमाले गठबन्धन सरकार लामो समय चल्नेमा आशंका उब्जिएको छ । प्रधानमन्त्री केपी ओलीको अहंका कारण सत्ता गठबन्धनमा खटपट आएको छ । संसदको दोस्रो ठूलो भए पनि एमालेले सरकारको नेतृत्व गरेको छ । कांग्रेस प्रमुख सत्ता साझेदारका रूपमा छ । ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छ । तर ओली अहिले कांग्रेसलाई माइनस गर्दै अघि बढ्न खोजेका छन् ।
कतिसम्म भने मन्त्रिपरिषदको बैठकमा ओलीले मात्र आफ्ना कुरा राख्छन् । एमालेका मन्त्रीहरूले ओलीका अगाडि बोल्ने कुरै भएन । कांग्रेसबाट पनि कोही मन्त्रीले धेरै बोल्दैनन् । अलिअलि बोल्नेमा गृहमन्त्री रमेश लेखक हुन् । तर एक महिनायताको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले पनि बोल्न छाडेको स्रोतले बतायो ।
खासगरी प्रहरीका सरुवा र बढुवामा प्रधानमन्त्री ओलीले अनावश्यक हस्तक्षेप गरेकाले गृहमन्त्री लेखक असन्तुष्ट बनेका हुन् । साना साना बढुवामा पनि ओलीले सूची दिने गरेपछि दिक्क भएर लेखकले कांग्रेस सभापति देउवालाई यो विषयमा कुरा राखिसकेका छन् । देउवाले पनि महामन्त्री गगन थापालाई प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा देखाएको रवैयाबारे छलफल गरेको कांग्रेसका एक नेताले बताए । सोही कारण पछिल्लो एक महिनायता कांग्रेसका एकजना नेताले पनि वर्तमान सरकारको डिफेन्ड नगरेका हुन् ।
प्रधानमन्त्री ओलीकै दबाबका कारण डेढ महिनाअघि एआइजीहरूको बढुवा भएको थियो । जसमा ओलीले भनेका दुईजनाको पहिलो र दोस्रो नम्बरमा नाम राखिएको थियो । प्रहरी महानिरीक्षक दीपक थापाले अवकाश पाएपछि ओलीले दिएका नामबाटै आइजी नियुक्त हुने अवस्था थियो । तर एक साताअघि गृहमन्त्री लेखकले डिआइजी सिद्धिविक्रम शाहलाई एआईजीमा बढुवा गरिदिए । त्यसपछि प्रधानमन्त्री ओली क्रुद्ध बनेको बुझिएको छ ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भिजिट भिसामा सेटिङ गरेर दैनिक ५० लाख असुल्ने गरिएको र त्यसमा गृह मन्त्रालयको नेतृत्व भनेर जसरी समाचार आएका छन्, त्यसमा प्रधानमन्त्री ओलीको निजी सचिवालयबाटै निरन्तर रूपमा सूचना प्रवाह भइरहेको कांग्रेस नेताहरूले रहस्य थाहा पाएका छन् । सामान्यतः कुनै सरकारी कार्यालयमा अनियमितता भइरहेको, विकृति विसंगति बढेको, पदको दुरुपयोग गरी काम भइरहेको पाइएमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान कार्यालय (सिआइबी)ले छापा मार्ने, अनुसन्धान गर्ने गथ्र्यो । तर यसपटक विमानस्थल अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली नै खटाइयो ।
अख्तियार प्रमुख प्रेमकुमार राईको निर्देशनमा सहसचिव तीर्थराज भट्टराईलाई बयानका लागि आयोगमै बोलाइयो । उनको मोबाइल नियन्त्रणमा लिइयो । कार्यालयका झन्डै एक दर्जन कर्मचारीबारे धाराप्रवाह रूपमा मिडियामा समाचार लेखाउने काम भइरहेको छ । यी सबैमा प्रधानमन्त्री ओलीका प्रेस संयोजकका काम गर्दै आएका रामशरण बजगाईको भूमिका रहेको कांग्रेसको उच्च स्रोतले जानकारी दिएको छ । अध्यागमन कार्यालयमा विगतमा पनि विभिन्न विकृति र विसंगति नहुने गरेका होइनन् । चल्दै आएका छन् ।
तर कांग्रेस नेतासमेत रहेका गृहमन्त्री लेखककै निर्देशनमा काम भइरहेको भनेर जसरी एकपक्षीय ढंगले एमाले आक्रमणमा लागेको छ, त्यसले सरकारप्रति गतिलो सन्देश गएको छैन । विगतमा श्रममन्त्री हुँदा निस्कलंक बनेर बाहिरिएका लेखकले भ्रष्टाचार गरेर पैसा कमाए भन्नेमा कांग्रेसका नेता कार्यकर्ताले भने पत्याउन सकेका छैनन् । बरु उनको नाम लिएर केहीले फाइदा उठाएको हुन सक्ने बताइन्छ ।




