देश

सार्वजनिक लेखा समितिमा पोखरेल र मोदीबीच तीव्र भनाभन, बैठक तनावपूर्ण

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच तीव्र भनाभन भएको छ।

माओवादी सांसद मोदीले बैठकमा सार्वजनिक सरोकारका विषय उठाउन खोज्दा सभापतिले बारम्बार रोक्ने गरेको आरोप लगाए। उनले लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउनुपर्ने भन्दै सत्तापक्षबाट आएका पोखरेलले आफूलाई पेल्न खोजेको टिप्पणी गरे।

मोदीको आरोपको जवाफमा सभापति पोखरेलले उल्टै सांसद मोदीमाथि समितिमा युट्युबर लिएर स्टन्ड गर्ने र भ्युज बढाउने हेतुले धारणा राख्ने आरोप लगाए। उनले बैठकमा अमर्यादित वातावरण सृजना गर्न खोजेको पनि दाबी गरे।

मोदीले भने आफू सभापतिले नभई पार्टीले पठाएको जनप्रतिनिधि भएको स्मरण गराउँदै सभापतिको व्यवहारप्रति असन्तोष जनाए।

भनाभनकै बीच लेखा समितिले विभिन्न उजुरी छानबिन गर्न गठन गरिएको उपसमितिको म्याद एक महिनाका लागि थप गर्ने निर्णय पनि गरेको छ। समितिमा परेका ४८ वटा उजुरी छानबिनका लागि यसअघि नै उपसमिति गठन गरिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *