देश

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियारलाई छानबिन गर्न समितिको निर्देशन

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा उठेका अनियमितता र भ्रष्टाचारका गम्भीर आरोपबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब छानबिन गर्ने भएको छ। संसद्को सार्वजनिक लेखा समितिले बुधबार बसेको बैठकपछि आयोगलाई अनुसन्धान अगाडी बढाउन औपचारिक निर्देशन दिएको हो।

समितिका सभापति ऋषिकेश पोखरेलले छानबिन गर्ने अधिकार समितिलाई नभएको भन्दै सम्बन्धित निकाय — अख्तियारलाई अनुसन्धान अघि बढाउन भनिएको जानकारी दिए।

यो निर्देशन राजेन्द्र लिङ्देन नेतृत्वको संसदीय उपसमितिले बुझाएको प्रतिवेदनको आधारमा दिइएको हो। उक्त प्रतिवेदनमा विमानस्थल निर्माणमा झण्डै १० अर्ब रुपैयाँ बराबरको अनियमितता भएको दाबी गरिएको छ।

पोखरेलले भने, “हामी छानबिन गर्ने निकाय होइनौं। तर, सार्वजनिक रकम र प्रक्रियामा गम्भीर प्रश्न उठेकाले अख्तियारलाई औपचारिक रूपमा छानबिन गर्न निर्देशन दिएका हौं।”

सो विषयमा आगामी दिनमा अख्तियारले उपसमितिको प्रतिवेदनको अध्ययन गर्दै सम्बन्धित निकाय र व्यक्तिहरूसँग सोधपुछ सुरु गर्नेछ। दोषी पाइएका व्यक्तिहरूमाथि कानुनी कारबाहीको बाटो खुल्नेछ। यो निर्णयले पोखरा विमानस्थलमा देखिएको भ्रष्टाचार प्रकरण अब अनुसन्धानको औपचारिक चरणमा प्रवेश गरेको संकेत गरेको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *