काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र पार्टीका तत्कालीन कोषाध्यक्ष सुरेन्द्र नारायण यादवबीच ललितपुर इमाडोलस्थित एक घरको स्वामित्वलाई लिएर विवाद चुलिएको छ। पार्टीकै लागि खरिद गरिएको भनिएको घर अहिले प्रहरी, सरकारी वकिल कार्यालय हुँदै अदालतको चर्को बहसको विषय बनेको छ।
पार्टी अध्यक्ष र उनकी पत्नी बस्दै आएको उक्त घर सुरेन्द्रले आफ्नै श्रीमतीको नाममा पास गरेको भन्दै उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता गरिएको हो। सुरेन्द्र भने घर आफैंले ऋण लिएर खरिद गरेको र उक्त रकम चुनावमा खर्च गरिएको दाबी गर्छन्।
सुरेन्द्रले दिएको बयान अनुसार, सीके राउतकै अनुरोधमा उनले घर खोजेर ऋण लिएर खरिद गरेका हुन्। बैंक ऋणको प्रक्रिया सजिलो बनाउन श्रीमतीको नाममा नामसारी गरिएको भन्दै उनले घर मासिक २५ हजारमा भाडामा दिएको बताएका छन्। उनले आरोप लगाएका छन् कि सीके र पत्नीबीचको विवादपछि मात्र यो विषयले मोड लिएको हो।
४० लाख मागेको आरोप, दलभित्रै मतभेद
सीके पक्षको भनाइ फरक छ। जनमत पार्टीका प्रवक्ता डा। शरतसिंह यादवले दिएको जाहेरी अनुसार सुरेन्द्रले घर पास गर्न ४० लाख रुपैयाँ माग गरेका थिए, जुन रकम पार्टीका सांसदहरूबाट संकलन गरेर दिइएको थियो। पूर्वमन्त्री अनिता देवी साह, सांसद विनिता सिंह दनुवार र अब्दुल खानले पनि सो कुरालाई समर्थन गरेका छन्।
यिनले भनेका छन्, घर पार्टीकै लागि लिइएको थियो, तर सुरेन्द्रले श्रीमतीको नाममा पास गरे। नामसारी गर्न भन्दै उल्टै पैसा मागे। त्यो पनि दिइसकेपछि घर पार्टीको नाममा पास गर्न मानेनन्।सीके राउतले दिएका विवरण अनुसार, पार्टीकै तर्फबाट सुरेन्द्रलाई जिम्मेवारी दिइएको थियो। ऋणको किस्ता पार्टीकै खाताबाट महिनैपिच्छे तिरेको उल्लेख गरिएको छ। तर सुरेन्द्रले घर आफ्नो व्यक्तिगत लगानी भएको भन्दै नामसारी गर्न अस्वीकार गरेका हुन्। पार्टी र कोषाध्यक्षबीचको आर्थिक विवाद सार्वजनिक भएपछि जनमत पार्टीभित्रको आन्तरिक असमझदारी उजागर भएको छ। अब अदालतमा ठगी र आपराधिक विश्वासघातको मुद्दा कसरी अघि बढ्छ भन्ने कुराले घटनाको अर्को चरण तय गर्नेछ।




