देश

विपीन जोशीको रिहाइका लागि कतारसँग परराष्ट्रमन्त्रीको पुनः आग्रह

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग हमासको अपहरणमा परेका नेपाली युवक विपीन जोशीको अवस्था र उनको स्वदेश फिर्तीका लागि थप पहल गर्न आग्रह गरेकी छन्।

सगरमाथा संवादमा भाग लिन काठमाडौँ आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटमा मन्त्री डा. राणाले उक्त आग्रह गरेकी हुन्। शिष्टाचार भेटका क्रममा उनीहरूबीच विपीन जोशीको अवस्थाबारे छलफल भएको थियो।

मन्त्री डा. राणाले विपीन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गरिरहेको प्रयासको लागि धन्यवाद दिँदै यस विषयमा निरन्तर पहल जारी राख्न र जोशीको रिहाइका लागि थप पहल गरिदिन पुनः अनुरोध गरेकी थिइन्। यसअघि पनि मन्त्री डा. राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्तासँग विपीनको रिहाइका लागि आवश्यक पहल गरिदिन बारम्बार आग्रह गरेकी थिइन्।

सन् २०२३ देखि हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइ र स्वदेश फिर्ताको लागि सहयोग गर्न मन्त्री डा. राणाले विश्व समुदायसँग निरन्तर आग्रह गर्दै आएकी छन्। शुक्रबारको भेटमा मन्त्री डा. राणाले सगरमाथा संवादमा कतारको सहभागिताको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा जलवायु परिवर्तनको असर कम गर्नका लागि गर्न सकिने सहकार्यबारे पनि छलफल गरेकी थिइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *