राजनीति

प्रतिनिधिसभा बैठकमा बाढी, सडक अवरोध र विमानस्थल बेथितिप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मुलुकका विभिन्न स्थानमा बाढीले पुर्याएको क्षति, सडक अवरोध र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अव्यवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकको आकस्मिक समयमा सांसद चन्द्र बहादुर विश्वकर्माले रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु र थुप्रैको घाइते भएको जानकारी गराउँदै घाइतेहरूको निःशुल्क उपचारको माग गरेका छन्। त्यस्तै, जाजरकोट जिल्ला कारागारमा भएको आत्महत्या घटनाप्रति ध्यानाकर्षण गराउँदै कारागारभित्र मृत्यु हुनुको कारणबारे सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

सांसद सूर्यमान दोङले काभ्रे जिल्लामा गत असोजमा आएको बाढीले विपी राजमार्ग र विभिन्न संरचनाहरूमा क्षति पुर्याए पनि सरकारको उदासीनता देखिएको आरोप लगाए। हिजोको वर्षापछि रोशी खोलामा आएको बाढीले काभ्रे र सिन्धुलीको सिमानामा एम्बुलेन्सलगायतका सवारी साधन अवरुद्ध भएको उल्लेख गर्दै समस्या छिटो समाधान गर्न सरकारलाई आग्रह गरे।

सांसद लेखनाथ दाहालले बनेपा र वरपरको क्षेत्रमा भारी वर्षाले एक महिला बेपत्ता भएको र रोशी खोलाको बाढीले विपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जानकारी गराए। उनले राजमार्गका १४ स्थान जोखिमपूर्ण रहेको भन्दै वर्षायाममा थप क्षति नहोस् भनेर बजेट व्यवस्थापन गर्दै पूर्वसचेतना अपनाउन सरकारलाई आह्वान गरे।

सांसद डा. अमरेशकुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको अव्यवस्था र बेथिति अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने बताए। उनले अन्तर्राष्ट्रिय यात्रुहरूको असहज स्थिति र विमानस्थलको कमजोर व्यवस्थापनप्रति सरकारको ध्यानाकर्षण गराए। आजको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२र०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *