काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरूले घोषणा गरेको आन्दोलनलाई निस्तेज पार्न पार्टी पंक्तिलाई सक्रिय हुन आग्रह गरेका छन्। सोमबार वाईसीएल नेपाल, कर्णाली प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रतिक्रान्तिकारी षड्यन्त्रविरुद्ध गाउँ–टोलसम्म पुगेर प्रतिवाद गर्न निर्देशन दिए।
प्रचण्डले राजावादी शक्तिहरूले जेठ १५ मा गर्ने भनिएको आन्दोलनप्रति कडा आलोचना गर्दै भने,अहिले सबै पूर्वपञ्चहरू मिलेर आन्दोलन घोषणा गरेका छन्। उनीहरूको त्यो गतिविधिलाई निस्तेज पार्न हरेक गाउँ–टोलमा पुग्नुपर्छ। प्रतिक्रान्तिकारी षड्यन्त्रको भण्डाफोर गर्नुपर्छ।
उनले वर्तमान सरकारको उल्टो नीतिका कारण जनतामा निराशा फैलिएको र त्यसको फाइदा उठाउँदै राजावादीहरू सक्रिय भएको आरोप लगाए। सरकारको गलत नीति र उल्टो दिशा हिँडेकै कारण जनतामा निराशा पैदा भयो, जसको दुरुपयोग राजावादीले गर्ने प्रयास गरिरहेका छन्,प्रचण्डले भने।
उनले समाजवादी मोर्चासँग मिलेर राजावादीहरूको प्रयासलाई पहिल्यै निस्तेज पारिएको दाबी गर्दै भने, काठमाडौंमा समाजवादी मोर्चाले प्रहार गर्दा राजावादीको बेलुन फुट्यो। तर, अझै पनि दुस्साहस गर्ने कुचेष्टा गरिरहेका छन्।
राजावादी शक्तिलाई कायरताको संज्ञा दिँदै प्रचण्डले थपे, तीनै राजामहाराजा होइनन्, जसले अढाइ सय वर्षसम्म देश कब्जा गरेर संसारको सबैभन्दा गरीब बनाएका थिए। आफ्नै राजा र राजपरिवारको हत्या हुँदा समेत केही बोल्न नसक्ने कायरहरू अहिले देशबासीलाई घुर्की लगाइरहेका छन्। उनले देशभरका जनतालाई राजावादीको घुर्कीविरुद्ध प्रतिवाद गर्न एकजुट हुन आह्वान गरे। ूअबको लडाइँ गाउँ–टोलमा पुगेर प्रतिक्रान्तिको अन्त्य गर्ने हो,ू उनले भने।




