काठमाडौं । एक वर्षअघि जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेका नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीले सार्वजनिक कार्यक्रममा निर्वाध रूपमा उपस्थिति जनाइरहेका छन्। बुद्ध जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा पन्थीले प्रमुख अतिथिको आसन ग्रहण गरेका थिए। पन्थीविरुद्धको पक्राउ पुर्जी जिल्ला प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान शाखा, जिल्ला प्रहरी कार्यालय रुपन्देही लगायत सबै प्रहरी इकाईमा पठाइएको भए पनि, उनी सहजै प्रदेशसभा बैठक र सार्वजनिक कार्यक्रममा उपस्थित भइरहेका छन्। राजनीतिक पहुँचको आडमा उनी प्रहरीको नजरबाट सुरक्षित रहेको आरोपसमेत लाग्दै आएको छ।
पन्थी सञ्चालक रहेको (गौतमबुद्ध हाइड्रोपावर प्रा.लिले विराटनगरको पल्लवी इलेक्ट्रा प्रा.लि.सँग गरेको १८ लाख ५४ हजार रुपैयाँको विद्युतीय सामग्रीको उधारो कारोबार विवादको कारण उनीमाथि पक्राउ पुर्जी जारी भएको हो। सो सामग्रीमध्ये ५ लाख रुपैयाँ मात्र भुक्तानी भएपछि बाँकी १३ लाख ५४ हजार नतिरेको आरोपमा अदालतले कैद र जरिवानाको फैसला सुनाएको थियो।
२०७७ साल मंसिर २३ गते जिल्ला अदालत मोरङले निर्णय सुनाए पनि पन्थीले अहिलेसम्म कुनै कानुनी कारबाहीको सामना गरेका छैनन्। जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका अन्य प्रहरी कार्यालयहरूमा पत्राचार हुँदै फाइल घुमिरहेको छ, तर पन्थी प्रहरी नियन्त्रणमा आएका छैनन्। सांसद पन्थीले भने आफूविरुद्धको मुद्दा राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गरेका छन्। मुद्दा दर्ता भएको र फैसला भएको जानकारी ढिलो मात्रै भयो। यो प्रतिशोधको रूपमा मेरो नाम राखिएको हो,उनले भने। उनका अनुसार, गौतमबुद्ध हाइड्रोपावर घाटामा गएको छ र बन्द अवस्थामा रहेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले आफूलाई पन्थीविरुद्धको पक्राउ पुर्जीको बारेमा जानकारी नभएको बताएका छन्। म भर्खरै आएको छु, बुझ्नुपर्नेछ,उनले भने। जिल्ला अदालतको आदेशको खुलेआम उल्लङ्घन गर्दै बुद्ध जयन्तीको कार्यक्रममा सहभागिता जनाउनु कानुनी राज्यको मान्यतामाथि प्रश्न खडा भएको छ। राजनीतिक पहुँचकै भरमा कानुनको कार्यान्वयन रोकिएको हो कि भन्ने प्रश्न अहिले सर्वत्र उठिरहेको छ। गम्भीर आर्थिक अपचलनको मुद्दामा अदालतको आदेशलाई चुनौती दिँदै सार्वजनिक रूपमा देखा परिरहेका सांसद पन्थीको गतिविधिले कानुनी राज्यको अवधारणामाथि थप बहस सिर्जना गरेको छ।




