अर्थ

९ करोड अपचलन प्रकरण: आर्जन सहकारीका १३ पदाधिकारीविरुद्ध मुद्दा दायर

काठमाडौं । सामाखुसीस्थित आर्जन बचत तथा ऋण सहकारी संस्थाले ९ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको खुलासा भएसँगै सहकारीका १३ जना पदाधिकारीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, बबरमहलले मुद्दा दायर गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा गरिएको अनुसन्धान र आन्तरिक छानबिन समितिको प्रतिवेदनका आधारमा आर्थिक अनियमितता पुष्टि भएपछि कानूनी प्रक्रिया अघि बढाइएको हो। सहकारीका अध्यक्ष दलबहादुर आलेसहित उपाध्यक्ष लिलाधर सापकोटा, सचिव राजकुमार गुरुङ, कोषाध्यक्ष सीता भट्टराई, व्यवस्थापक कविता गुरुङ, तथा सञ्चालक समिति र लेखा समितिका विभिन्न सदस्यहरूविरुद्ध सहकारी ठगीको कसुरमा मुद्दा दायर गरिएको छ।

प्रहरीको अनुसन्धानअनुसार, सहकारीले २८ जना बचतकर्ताको जम्मा ९ करोड ४ लाख ७८ हजार ८१० रुपैयाँ अपचलन गरेको पुष्टि भएको छ। आन्तरिक छानबिन समितिले १७ जेठ २०८० मा गठन गरेको प्रतिवेदनले नै सहकारीभित्रको आर्थिक अनियमितता औंल्याएको थियो।

छानबिन समितिले तयार पारेको प्रतिवेदनले सहकारीको लेखा परीक्षण प्रतिवेदनमा नाफा(नोक्सानको हिसाब र वासलात रकममा फरक देखाएर सदस्यहरूलाई भ्रममा राखिएको उल्लेख गरेको छ। वास्तविक नोक्सानी भएका बेला समेत नाफा देखाएर आर्थिक अवस्थालाई लुकाइएको पाइएको छ।

सहकारीका अध्यक्ष दलबहादुर आलेले ठूलो परिमाणमा रकम अपचलन गरेको र सहकारीको आम्दानीको स्रोत खुम्च्याउँदै खर्चलाई अत्यधिक बढाइएको अनुसन्धानबाट खुलेको छ।

प्रहरीले मुद्दा दायर भएसँगै सबै आरोपीहरूको कानूनी कारबाही प्रक्रिया अघि बढाएको छ। अदालतमा आरोप प्रमाणित भएमा उनीहरूलाई सहकारी ऐनअनुसार कडा कानूनी सजाय हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *