राजनीति

रिजल्ट चाहियो, बस्नका लागि मात्र सरकार होइन: महामन्त्री थापा  

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टिलाई उत्तेजनामा नलिई समाधानतर्फ उन्मुख हुनुपर्नेमा जोड दिएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले हाल देखिएको असन्तोष र बेचैनीलाई सम्बोधन नगरी राजनीतिक स्थायित्व र समृद्धिको सपना पुरा नहुने स्पष्ट पारेका हुन् ।

महामन्त्री थापाले देशमा भएका राजनीतिक उपलब्धिहरुप्रति नागरिकहरु सन्तुष्ट देखिए पनि जनजीवनमा अपेक्षित परिवर्तन नआएकाले ठूलो असन्तोष र बेचैनी रहेको टिप्पणी गरे । ‘हामीले वाचा गरेका परिवर्तनहरू आम नागरिकले अनुभूति गर्न सकेका छैनन् । त्यसैले असन्तुष्टि बढेको छ,’ उनले भने, ‘तर, असन्तुष्टिको कारोबार गर्नु हुँदैन । बेचैनीलाई उत्तेजनामा बदल्नुभन्दा समाधानको बाटो समात्नुपर्छ ।’

उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको वर्तमान सरकारको मुख्य प्राथमिकता नै नागरिकको असन्तुष्टि र बेचैनी हटाउने रहेको बताए । अर्थतन्त्रमा देखिएका समस्या र संकट समाधान नगरी जनताले चाहेको परिवर्तन सम्भव नभएको उनको ठम्याइ थियो । ‘इकोनोमीमा देखिएका समस्यालाई सम्बोधन नगरीकन नागरिकको असन्तुष्टि सम्बोधन हुन सक्दैन,’ उनले भने ।

 

संसदले हालै पारित गरेका केही कानुनहरूलाई प्रारम्भिक कदमको रुपमा लिनुपर्ने बताउँदै उनले ती कानुनहरूले सकारात्मक संकेत दिएका भए पनि अपेक्षित परिणाम ल्याउन थप प्रयास आवश्यक रहेको औंल्याए । उनले भने, ‘यो समयको अधिकतम प्रयोग गरी हामी समस्याहरुलाई सम्बोधन गर्दै अघि बढ्न चाहन्छौं ।’

नेकपा एमालेसँगको सहकार्यबारे स्पष्ट गर्दै थापाले केन्द्रदेखि प्रदेशसम्म राजनीतिक स्थिरता कायम राख्दै परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘सरकारमा बस्नकै लागि होइन, जनअपेक्षाअनुसार परिणाम दिनका लागि हामी लागिपरेका छौं,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *