काठमाडौं । नेपाली कांग्रेसले लामो समयदेखि आन्दोलनरत शिक्षकहरूलाई विद्यालय फर्काउन सक्रिय पहल थालेको छ। पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई यो विषयमा तुरुन्त पहल गर्न निर्देशन दिएका छन्। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, देउवाले महामन्त्रीद्वयसँगै शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई शिक्षकको माग सम्बोधनमा केन्द्रित भएर काम गर्न भनेका हुन्।
“कांग्रेसको अहिलेको मुख्य एजेण्डा शिक्षकको आन्दोलनलाई समाधानतर्फ लैजाने हो,” पौडेलले भने, “सभापतिले अर्थमन्त्री, गृहमन्त्री, सहकारी मन्त्रीसँग पनि यसबारे कुराकानी गरिसक्नुभएको छ।” महामन्त्रीद्वय थापा र शर्मा अहिले शिक्षकहरूको जायज माग सम्बोधनका सम्भावित विकल्पहरूमाथि छलफलमा छन्। देउवाले केही दिनअघि शिक्षक अगुवाहरूसँग भेटेर सिधा संवाद पनि गरेका थिए।
यद्यपि, शिक्षकहरूको आन्दोलनबारे सरकारसँग भएको वार्ता अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन। कांग्रेसभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको उपेक्षाप्रति असन्तुष्टि बढ्दो छ। यही कारण पदाधिकारी बैठकपछि देउवाले पार्टी स्तरबाटै समाधानको पहल थालेका हुन्।
गगन थापाले यसअघि नै सरकारले कानुन नबनाएर पनि शिक्षकको धेरैजसो माग सम्बोधन गर्न सकिने सुझाव दिएका थिए। उनका अनुसार, तत्काल मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन गर्न मिल्ने मागहरूलाई छिटो टुंग्याएर बाँकीका लागि विधेयक ल्याउनु उपयुक्त हुनेछ। सरकारलाई विद्यालय फर्कन राष्ट्रिय परिक्षा बोर्डले समेत निर्देशन दिइसकेको छ भने सरकारले समेत शिक्षकका माग सम्बोधन गर्न तयार रहेको प्रतिक्रिया दिएको छ ।




