काठमाडौं । सत्तारूढ नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पछिल्ला अभिव्यक्तिमाथि गम्भीर आपत्ति जनाएको छ। सोमबार बसेको एमाले सचिवालय बैठकले यी अभिव्यक्तिहरू गणतन्त्र र स्थायित्वविरुद्धको संकेत भएको निष्कर्ष निकालेको हो।
उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराजा शाहको नयाँ वर्ष सन्देशलाई ‘गणतन्त्र उल्ट्याउने आकांक्षा’ भएको टिप्पणी गरे। उनले तीनकुनेमा राजावादी समूहद्वारा गरिएको प्रदर्शन र त्यसमा हिंसात्मक गतिविधिलाई शाहले ‘जनताको जागरण’ भनेर सम्बोधन गर्नु आपत्तिजनक रहेको बताए।
ज्ञवालीले माओवादी अध्यक्ष प्रचण्डद्वारा चितवनमा गरिएको सरकार परिवर्तनसम्बन्धी अभिव्यक्तिलाई ‘सत्तामोह’ र ‘कुण्ठा’ को उपज भएको बताए। “सरकार परिवर्तन अहिले सम्भव छैन, न त औचित्य नै छ,” ज्ञवालीले स्पष्ट पारे।उनका अनुसार अहिलेको सरकार संविधानसम्मत र स्थायी ढंगले बनेको सरकार हो, र त्यसमा अस्थिरता सिर्जना गर्ने प्रयासको एमालेले कडा विरोध गर्नेछ। “यो सरकारमाथि अनावश्यक हल्ला सृजना गर्नु सत्ता बाहिरको पीडाबाट उत्पन्न कुण्ठा हो,” उनले भने।
पूर्वराजा शाहले नयाँ वर्षको सन्देशमा जनताको असन्तुष्टि देखिएको भन्दै तीनकुने प्रदर्शनलाई समर्थन गरेका थिए। तर, ज्ञवालीले यस्तो सन्देश लोकतान्त्रिक व्यवस्थामाथिको प्रश्न चिन्ह भएको बताए। “राजतन्त्र फर्काउने आशा राख्नु लोकतान्त्रिक मूल्यमान्यता विरुद्धको सोच हो,” उनले जोड दिए। एमाले सचिवालयले पूर्वराजालाई भविष्यमा यस्तो गैर(जिम्मेवार अभिव्यक्तिबाट टाढा रहन चेतावनीसमेत दिएको छ।
ज्ञवालीले विस्तृत शान्ति सम्झौता पश्चात माओवादी सबैभन्दा बढी समय सरकारमा बसेको तर त्यसको जबाफदेहिता नलिएको आरोपसमेत लगाए। “जो सधैं सत्तामा रहन्छ, उसैले सबैभन्दा बढी जिम्मेवारी लिनुपर्छ,” उनले भने। माले बैठकले व्यवस्थामाथि प्रहार गर्ने, तथा सरकार परिवर्तनको चर्चा फैलाउने दुवै प्रवृत्तिलाई अस्थिरताको स्रोत मानेको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बैठकमा पछिल्लो राजनीतिक परिवेश र अभिव्यक्तिहरूबारे जानकारी गराएका थिए।
बैठकले पार्टी स्थापनाको ७६ औं वार्षिकोत्सव वैशाख ९ मा भव्य रूपमा मनाउने निर्णय गरेको छ। यस अवसरमा पार्टी र कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याउने सात विशिष्ट व्यक्तित्वलाई ‘कम्युनिस्ट योद्धा’का रूपमा सम्मान गर्ने निर्णय गरिएको छ। सम्मानित हुनेमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्व. रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), र हरिचरण शिवाकोटी (झापा) रहेका छन्। स्वर्गीय न्यौपानेलाई मरणोपरान्त सम्मान गरिनेछ।



