काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष २०८२ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
नववर्षको सन्देशमार्फत देउवाले नेपाली जनताले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै, अबको यात्रा आर्थिक विकास र सुशासनमा केन्द्रीत हुनुपर्ने बताएका छन्।
उनले भनेका छन्, “अहिले मुलुकले सुशासन कायम गर्दै आर्थिक समृद्धिको मार्गमा अग्रसर हुने समय आएको छ। त्यसका लागि सबै राजनीतिक दल र जिम्मेवार निकायले आ–आफ्ना स्वार्थभन्दा माथि उठेर एकतामा आधारित सहकार्य गर्नुपर्छ।”
सभापति देउवाले नयाँ वर्ष २०८२ ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्वलाई बलियो बनाउने, र सामाजिक, आर्थिक तथा सांस्कृतिक समृद्धिमा नयाँ जोश र प्रेरणा ल्याउने विश्वास व्यक्त गरे।
“नयाँ वर्षले हामी नेपालीबीचको एकतालाई थप मजबुत बनाओस्,” भन्दै उनले पुनः सबैमा मंगलमय शुभकामना व्यक्त गरेका छन्।




