राजनीति

हुलाकी राजमार्गमा कांग्रेसको अभियान, प्रवक्ता महतको नेतृत्वमा आठ जिल्ला दौड

"नेतृत्व र कार्यकर्ता एकताको शक्ति नै हाम्रो बल हो"

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले हुलाकी राजमार्गलाई केन्द्रित गरी तराई-मधेसमा पार्टीको संगठन सुदृढीकरण र कार्यकर्तासँगको सम्बन्ध विस्तार गर्ने उद्देश्यले अभियान सुरु गरेका छन्।

प्रवक्ता महत यस अभियानको थालनी गर्दै मंगलबार सप्तरी पुगेका थिए। उनले कांग्रेस सप्तरी कार्यालयबाट औपचारिक रूपमा यो अभियान सुरु गरेका हुन्। यस क्रममा उनले तराई-मधेसका विभिन्न जिल्लामा हुलाकी राजमार्ग आसपासका क्षेत्रमा अन्तर्क्रिया लगायतका कार्यक्रम गर्ने योजना रहेको छ।

सप्तरी क्षेत्र नम्बर १ का कार्यकर्तासँग बुधबार भएको अन्तर्क्रियामा प्रवक्ता महतले पार्टीका नेता तथा कार्यकर्ताहरू आफ्नो काममार्फत पहिचान बनाउनुपर्नेमा जोड दिए। उनले नेता कार्यकर्ताले आफ्नो कर्मबाट नै परिचय स्थापित गर्नुपर्ने परम्पराको थालनी गर्नुपर्ने बताए।

सोही अवसरमा प्रवक्ता महतले जिल्लास्थित नेता कार्यकर्ताहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिए। उनले पार्टीमा केही कमजोरी भए पनि अन्य दलको तुलनामा कांग्रेस धेरै राम्रो रहेको भन्दै गर्व गर्न आग्रह गरे। उनले आत्मविश्वास नभए संगठन निर्माण गर्न नसकिने बताए।

महतले पार्टीभित्रका कमीकमजोरीलाई सम्बन्धित निकायमार्फत सुधार गर्दै लगिने जानकारी दिए। उनले पार्टीको १५औँ महाधिवेशन आउन अझै समय लाग्ने बताए। महाधिवेशनलाई लक्षित गरी नेताहरूले गरिरहेको दौडधुपप्रति टिप्पणी गर्दै उनले अहिलेदेखि नै व्यक्ति विशेषको प्रचारमा लाग्नुभन्दा पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

प्रवक्ता महतले १५औँ महाधिवेशनमा आफू कुन पदमा उठ्ने भन्ने घोषणा गर्ने समय नभएको बताए पनि उनी सभापति पदका आकांक्षीका रूपमा हेरिएका छन्।

यस हुलाकी राजमार्ग केन्द्रित अभियानमा प्रवक्ता महतसँगै केन्द्रीय सदस्य दिनेश यादव, मदनकृष्ण श्रेष्ठ, उर्मिला केसी नेपाललगायतका नेताहरूको पनि सहभागिता रहेको छ। प्रवक्ता महतसहितको टोलीले मधेस प्रदेशका आठवटै जिल्लाका विभिन्न स्थानमा पुगेर पार्टीका नेता कार्यकर्तासँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *