काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू बेलगाम बोल्न थालेका छन् । गणतान्त्रिक शासन व्यवस्थाअनुसार निर्वाचनका माध्यमबाट संसदमा पुग्ने अनि त्यही संसदबाट राप्रपा सांसदहरुले राजाको गीत गाउन थालेका छन् । राप्रपाका सबै सांसदका अभिव्यक्ति संविधानअनुसार कारबाहीयोग्य मानिन्छ ।
कतिसम्म भने उनीहरू राजाको पक्षमा बोल्दै लोकतन्त्र र गणतन्त्रका लागि आफ्नो सम्पूर्ण जीवन आहुति गर्ने प्रमुख दलका शीर्ष नेतामाथि नै आपत्तिजनक शब्द प्रयोग गरिरहेका छन् । त्यति मात्र होइन, देशलाई हिंसात्मक अवस्थामा लगेर धमिलो पानीमा माछा मार्ने दाउमा उनीहरू रहेका छन् ।
केही समयअघि श्रीलंका र बंगलादेशमा भएका सत्तापलट र जनविद्रोह नेपालमा पनि अवश्यम्भावी रहेको भन्दै उनीहरूले हिंसात्मक अभिव्यक्ति दिने, जनतालाईं भड्काउने अभियानमा लागेका छन् । राप्रपाका वरिष्ठ उपसभापति रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा हिंसालाई उक्साएकै आरोपमा पक्राउ परी अहिले न्यायिक हिरासतमा छन् । राप्रपाकै अर्का सांसद दीपकबहादुर सिंह पनि बेला उत्तेजना फैलाउने, हिंसा भड्काउने शब्द बोलिरहन्छन् ।
हालै न्युज २४ टेलिभिजनमा एक अन्तर्वार्ताम दिँदै सिंहले ‘नेपाललाई बंगलादेशको स्थितिमा पु¥याइदिन्छु’ भने । उक्त अभिव्यक्तिलाई लिएर अहिले उनको चौतर्फी आलोचना भइरहेको छ । कांग्रेसभित्रको बेमेल र एमालेकै एउटा पक्षले अन्तर्घात गरिदिएकाले मकवानपुर–१ बाट सांसदमा विजयी सिंह सुरुमा स्टेसनरी पसल चलाउँथे ।
सँगसँगै हेटौंडामा गुण्डागर्दी गर्ने गरेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ ।
सांसद सिंहको पछिल्लो अभिव्यक्तिले लोकतान्त्रिक प्रणालीमाथि प्रहार गरेको भन्दै कानुनीवेत्ता, राजनीतिक विश्लेषक, नागरिक समाजका अगुवा तथा सर्वसाधारणले उनीमाथि संविधानविरोधी भावना फैलाएकोमा छानबिन गरी कारबाही गर्नुपर्ने आवाज उठाउन थालेका छन् ।
सिंहकै जस्तो हिंसात्क अभिव्यक्ति दिने दुर्गा प्रसाई अहिले भूमिगत अवस्थामा छन् । सिंहले पनि प्रसाईकै पथ अनुशरण गर्न थालेका छन् । गत चैत्र १५ मा तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शन हिंसात्मक बन्दा एक पत्रकारसहित दुईजनाले ज्यान गुमाएका थिए । अर्बौं रुपैयाँ बराबरको सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी भएको थियो।




