
महोत्तरी। मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले धार्मिक माहोल छाएको छ। चैत शुक्ल प्रतिपदादेखि वासन्ती नवरात्र सुरु भएसँगै यहाँका हिन्दू मैथिल समुदाय पर्वमय बनेका छन्। यसै नवरात्रभित्र चैतीछठ पनि मनाइने हुँदा यहाँको वातावरण थप उल्लासमय भएको छ।
मिथिलाका देवी शक्तिपीठ र मन्दिरहरूमा आज घटस्थापना गरी वासन्ती नवरात्रको सुरुवात गरिएको छ। नौ दिनसम्म चल्ने यस पर्वमा नवदुर्गाको विशेष पूजाआराधना गर्ने परम्परा छ। यस अवधिमा शैलपत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ।
महोत्तरीका बर्दिबासस्थित पञ्चधुरा माई मन्दिर, औरहीको भोइलस्थित सोनामाई मन्दिर र जलेश्वरस्थित राजदेवी माई मन्दिरमा विशेष पूजाआराधनाको तयारी गरिएको छ। जलेश्वरनाथ महादेव मन्दिर परिसरस्थित त्रिशूली देवीको मन्दिर पनि आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ।
यसैबीच, मिथिलामा चैतीछठको पनि तयारी सुरु भएको छ। चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यको उपासना गरिन्छ। यसपालि यसै नवरात्रभित्र इस्लाम धर्मावलम्बीको मुख्य चाड इद पनि परेको हुँदा मिथिला क्षेत्र अहिले धार्मिक सद्भावको अनुपम उदाहरण बनेको छ।