
नेपालमा राजतन्त्र पुनस्र्थापनाको मुद्दा चर्चामा आउन नपाउँदै सेलाउन पुगेको छ । फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखराबाट काठमाडौंमा आउँदा स्वागत गर्न जम्मा भएको भीड देखेर उत्साही राजावादीहरू अहिले आफैं छिन्नभिन्न भएका छन् ।
स्वतन्त्र राजसंस्था पुनस्र्थापना अभियानको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद बढ्दै जाँदा नेताहरु जुट्नै नसक्ने अवस्थामा पुगेका हुन् । कांग्रेस, एमाले, माओवादीलगायतका दलले राजावादीमाथि प्रश्न उठाएपछि उनीहरूमा आन्तरिक द्वन्द्व सुरु भएको छ । राप्रपा त दुई चिरामा विभक्त भएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर विष्ट र सल्लाहकार डा. राजेश झा ८६ वर्षीय वृद्ध नवराज सुवेदी नेतृत्वको संयुक्त आन्दोलन समितिबाट अलग भएका छन् । यसले पनि नेपालमा राजतन्त्रको विषय औचित्यहीन भएको पुष्टि गरेको छ । कमल थापाले त गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन भनिनै सकेका छन् । संस्थागत लोकतन्त्रलाई स्वीकार्दै अगाडि बढ्नुपर्ने धारको नेतृत्व लिङ्देन, थापा जस्ता नेताहरूले गरिरहेका छन् । तर राप्रपामा रवीन्द्र मिश्र, प्रकाशचन्द्र लोहनी, धवलशमशेर जबरा जस्ता अतिदक्षिणपन्थी नेताहरू पनि छन्, जो केही समयपछि नेपालको राजनीतिक परिदृश्यमा नदेखिन सक्छन् ।
छिमेकी देश भारतले समेत नेपालमा भइरहेको राजावादी आन्दोलन र राजतन्त्र पुनःस्थापनाको विषयमा आफूहरूको कुनै भूमिका र संलग्नता नरहेको स्पष्ट पारेपछि राजावादी कित्तामा ८ रेक्टर स्केलको भुइँचालो गएको छ । भारतले केपी ओली नेतृत्वको सरकारभन्दा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रणनीति अघि सारिरहेको संकेत देखिन्छ । ओलीको राष्ट्रवादी छविले भारतलाई असहज बनाएको र उनले चुच्चे नक्सा पारित गरेपछि भारत चिढिएको छ ।
एक साताअघिसम्म राजवादीहरू २०८१ लाई गणतन्त्रको अन्तिम वर्ष भन्दै आएका थिए । तर अहिले उनीहरूको बोली फेरिएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा राप्रपा नेता दीपकबहादुर सिंहले समेत तत्काल नेपालमा राजा नआउने घोषणा नै गरे । यसले पनि के देखाउँछ भने राप्रपाको सम्पूर्ण नेतृत्व राजसंस्था ल्याउन नहुने पक्षमा छ ।
अहिले राजा चाहिएको विवादास्पद व्यापारी दुर्गा प्रसाईलाई मात्रै हो । केहीलाई पैसा दिएर भए पनि प्रसाई दुई चार हजार भीड जुटाउने व्यक्ति भइसकेका छन् । कांग्रेस, माओवादी हुँदै एमाले केन्द्रीय सदस्यसमेत बनेका प्रसाईलाई ठूला दलका बारेमा धेरै थाहा छ । त्यसमा पनि पूर्वराजा ज्ञानेन्द्र शाहसँगसमेत बाक्लो बसउठ भएकाले उनको बोलीलाई केहीले पत्याइदिने गरेका छन् । तर आफैं बैंकको अर्बौं ऋण तिर्न नसक्ने प्रसाईले राजतन्त्र पुनःस्थापित गरिदेलान् भन्ने धेरैलाई विश्वास छैन । यदि राजतन्त्र ल्याउनै चाहेको भए प्रसाईले राप्रपा र राप्रपा नेपालका शीर्ष नेता र सांसदलाई तथानाम गाली गर्दैनथे । प्रसाईले नेपालमा राजतन्त्र ल्याए आफूले ल्याउने, अरुले ल्याउन नसक्ने भन्दै राजावादीको सपनामा पानी खन्याइदिएकना छन् ।