राजनीति

महामन्त्री थापाको आक्रोशपूर्ण आह्वान: भ्रष्टाचारीलाई पाता कसेर लैजाऔँ, कसैलाई नछोडौँ

 

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक निकायहरूले गरेका भ्रष्टाचार अनुसन्धानमाथि व्यापक जनआशंका पैदा भएको भन्दै कडा आक्रोश व्यक्त गरेका छन्। उनले ठूला भ्रष्टाचार काण्डहरूमा अख्तियार र सरकारको अनुसन्धान कमजोर देखिएको टिप्पणी गर्दै संसदबाट उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग अघि सारेका छन्।

“संवैधानिक निकायको छानबिनमा प्रश्न उठेपछि जनताको विश्वास जित्न जरुरी छ,” थापाले भने, “एकदम विश्वास गर्ने न्यायाधीश वा पूर्वप्रधानन्याधीश ल्याउने हो भने पनि ल्याऔँ। आयोग बनाउने हो भने पनि बनाऔँ। नेताको सम्पत्ति पनि छानबिन गरौँ। सबै ठूलो ठूलो काण्डको पनि छानबिन गरौँ। त्यो अनुसन्धानमा आमा पर्ला, मामा पर्ला कसैलाई नछोडौँ। गल्ती गर्नेलाई पाता कसेर लैजाऔँ।”

नवलपरासीको सुनवलमा बुधबार आयोजित पार्टी कार्यक्रममा थापाले व्यक्तिले गरेको भ्रष्टाचारको भारी पार्टीले बोक्न नसक्ने स्पष्ट पारे। उनले भ्रष्टाचारमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।

“सिंगो कर्मचारी तन्त्रले भ्रष्टाचार गर्छ त? गर्दैन नि। एक जना व्यक्तिले गर्छ नि। सिंगो नेपालका नेताहरुले गर्छन् त? गर्दैनन् नि त। व्यक्तिले गर्छ नि,” थापाले भने, “भ्रष्टाचार कसैले गर्छ भने जिम्मा त्यही स्वयंले लिनुपर्छ। त्यसको भारी कांग्रेसले बोक्दैन।”

थापाले भ्रष्टाचारविरुद्धको लडाइँमा कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै गल्ती गर्नेलाई कठोर कारबाहीको माग गरे। उनले भ्रष्टाचारको जरा उखेल्न सबै एकजुट हुनुपर्नेमा जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *