काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको असन्तुष्टिलाई उपयोग गरेर ‘रोटी सेक्ने’ प्रयास भइरहेको आरोप लगाएका छन्। राजावादीहरूको प्रदर्शनप्रति लक्षित गर्दै थापाले नागरिकको आक्रोशलाई आगोको रूपमा प्रयोग गरी स्वार्थ पूरा गर्न खोज्नेहरूलाई विफल पार्ने बताए।
सुदूरपश्चिम काँग्रेसको पहिलो सम्मेलनमा बोल्दै थापाले नागरिकमा असन्तुष्टि भए पनि निराशा नरहेको स्पष्ट पारे। २०६० सालमा माओवादी द्वन्द्व, राजाको प्रत्यक्ष शासन र पहिलो संविधानसभाको असफलताका बेला पनि नागरिकले काँग्रेसलाई साथ दिएको स्मरण गर्दै थापाले अहिलेको असन्तुष्टि स्वभाविक भएको बताए।
‘नागरिकले व्यवस्था परिवर्तनपछि आफ्नो अवस्था बदलिने आशा राखेका थिए, तर त्यो पूरा नभएकोमा असन्तुष्टि देखिनु स्वाभाविक हो,’ थापाले भने, ‘तर, यसको अर्थ लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने होइन।’
थापाले नागरिकको आक्रोशलाई सही दिशामा लैजाने र उनीहरूको समस्या समाधान गर्ने दायित्व काँग्रेसको भएको बताए। ‘आक्रोशको आगो निभाउने दायित्व हाम्रो हो, यसलाई दुरुपयोग गर्न दिनेछैनौँ,’ उनले भने।




