देश

कांग्रेसद्वारा ३३० क्षेत्रीय सभापतिलाई केन्द्रीय नेतृत्वको प्रशिक्षण

रुपन्देही। नेपाली कांग्रेसले देशभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति तथा उपसभापतिलाई प्रशिक्षण दिएको छ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवासहित पार्टी पदाधिकारी, पूर्व पदाधिकारी, सरकारमा सहभागी मन्त्रीहरू उपस्थित रहे। प्रशिक्षणमा पार्टीको नीति, संगठन, सदस्यता अभियान, समसामयिक मुद्दा, आर्थिक, सामाजिक, तथा राजनीतिक विषयमा छलफल गरिएको थियो।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा सहित ६ जना विज्ञले प्रशिक्षण दिएका थिए। नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं. ३ का सभापति सुशील गुरुङका अनुसार, कार्यक्रममा ३३० क्षेत्रीय सभापति तथा अन्य नेताहरू गरी ५५० भन्दा बढीको उपस्थिति थियो।

महामन्त्री थापाले पार्टी संगठन सुदृढीकरण, सदस्यता अभियान, र केन्द्र-प्रदेश सम्बन्धबारे प्रशिक्षण दिएका थिए। उनले संगठन विस्तार र सदस्यता नवीकरणलाई प्राथमिकता दिन आग्रह गरे।

त्यस्तै, महामन्त्री शर्माले समसामयिक मुद्दामा प्रशिक्षण दिँदै, कांग्रेस र सरकारका काम जनस्तरसम्म पुर्याउन नसकिएको बताए। उनले जनतासँग प्रभावकारी संवाद गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले संघीयता कार्यान्वयन र कांग्रेसको दायित्वबारे कार्यपत्र प्रस्तुत गरे। सदस्य विश्वदीप लामिछानेले कांग्रेस संगठन विस्तारमा प्रविधिको भूमिका विषयमा कार्यपत्र पेश गरे।

सदस्य डा. कृष्णप्रसाद पौडेलले आर्थिक र सामाजिक विकास तथा तहगत संगठनबारे कार्यपत्र प्रस्तुत गरे भने प्रतिष्ठानका निर्देशक डा. जगदीशचन्द्र पोखरेलले लोकतान्त्रिक समाजवाद र कांग्रेसको आर्थिक नीति विषयमा कार्यपत्र पेश गरे।

मंगलबार प्रशिक्षणको दोस्रो चरणमा समुहगत छलफल, क्षेत्रीय संगठन तथा प्रशिक्षणसम्बन्धी समस्या विश्लेषण, र समाधानसहितको सुझाव प्रतिवेदन तयार गरिने उपसभापति एवं प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्काले जानकारी दिए।

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *