
काठमाडौं । माओवादी केन्द्रका पूर्वमन्त्री जनार्दन शर्माले अघिल्लो प्रचण्ड नेतृत्वको सरकारले विश्वासको काम गर्न नसकेको तर कांग्रेस र एमाले नेतृत्वको सरकारले विश्वासको काम गरेको बताएका छन् ।
आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले समेत आफ्नो नेतृत्व कालमा रहदा कर्णाली प्रदेशका भूकम्पपीडितका लागि प्रतिपरिवार बजेट पाँच लाख छुट्याएको भन्दै गरेको घोषणाले फेल खाएको उल्लेख गर्दै शर्माले झुटको खेती गरेको भन्दै वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामको प्रशंशा गरेका छन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वगृह र अर्थमन्त्री जनार्दन शर्माले आफ्नै पार्टी नेतृत्वको अघिल्लो सरकारले कर्णालीका भूकम्प पीडितलाई झुक्याएको तर वर्तमान सरकारले भूकम्पपीडितलाई चार लाख रुपैयाँ दिने गरेको निर्णयको प्रशंसा गर्दै चाँडै नै भूकम्पपीडितको आवास निर्माण हुनुपर्नेमा जोड दिए ।
बिहीबार माओवादी सशस्त्र युद्ध सुरूको ३०औं वर्ष प्रवेशको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् । प्रचण्ड नेतृत्वको सरकारले भूकम्प प्रभावितलाई घर बनाउन ५ लाख दिने भन्दै झुक्यायो तर वर्तमान सरकारले राहत गर्ने निर्णय ग¥यो उनले भने ।
वर्तमान सरकारले ४ लाख दिने गरेको निर्णयले अब पीडितले घर बनाउने पैसा पाउने भएको आफूले विश्वास लिएको बताए । प्रचण्ड नेतृत्वको सरकारमा आफूले त्यहाँका भूकम्पपीडितहरुका लागि आवास निर्माणका लागि बारम्बार सरकारलाई आग्रह गरेको तर कुनै कुरा सुनुवाई हुन नसकेको उनले बताए ।
पूर्वमन्त्री शर्माले रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडितको लागि राहत, उद्धारलगायतका काममा आफू शुरूदेखि नै संलग्न रहेको बताए । शर्मामाथि सो विषयमा कुरा उठाउँदा प्रचण्ड गुटका नेताहरुले आरोप र प्रत्यारोप समेत लगाएको उनले बताए ।