काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार सङ्कटमा प¥यो वा छिट्टै ढल्छ भन्ने कुरा विपक्षीलाई छटपटी मात्र भएको बताएका छन् । नेकपा (एमाले) पर्वतले आजदेखि सञ्चालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने दाबी गरे ।
“सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने भयो भनेपछि सरकार बाहिर रहेका दललाई छटपटाहट भएको हो”, उनले भने । मुलुकमा देखिएको सङ्कट समाधान गर्नकै लागि दुई ठूला दल एकठाउँमा आएको उल्लेख गर्दै उनले नेपाली कांग्रेस र एमालेबीच विशेष सहमति बनेको बताए ।
वर्तमान सरकार कुनै पनि सङ्कटमा नपर्ने उपमहासचिव ज्ञवालीको भनाइ थियो । सरकारलाई घेराबन्दीमा पार्नका लागि विभिन्न चलखेल सुरु भए पनि कुनै पनि हालतमा सरकार नडगमडाउने उनले बताए । कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल मात्र नभएर एकअर्काका सहयात्री भएकाले मुलुक सञ्चालनका लागि दुवै दल गम्भीर रहेको उनले बताए ।
सरकारले ल्याएको अध्यादेश संविधान अनुसार नै आएको उपमहासचिव ज्ञवालीले बताए । मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको र यसको सरकारको आयुसँग सम्बन्ध नरहेको उनको भनाइ थियो । सरकार भ्रष्टाचारका विरुद्ध निर्मम हिसाबले लागेको उनले बताए । भ्रष्टाचार कुनै सिद्धान्त नभई मुलुकका लागि अभिसाप नै भएकाले जुनसुकै पार्टीसँग आबद्ध भएको व्यक्ति भए पनि कारबाहीको दायरमा ल्याएरै छाडिने उपमहासचिव ज्ञवालीले बताए ।
एमाले केन्द्रीय कमिटीको कार्यक्रमअनुसार प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । प्रशिक्षणमा एक सयभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।
देशको आवश्यकताअनुसार बनेको वर्तमान सरकार कसैले चाहँदैमा ढल्दैन : महासचिव
शङ्कर पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान गठबन्धन सरकार जनताले दिएको जनमत र देशको आवश्यकताअनुसार बनेकाले कसैले चाहँदैमा नढल्ने बताएका छन् ।
पार्टी जिल्ला कमिटी धनकुटाले आयोजना गरेको तीन महिने ‘जरा केन्द्रित अभियान’ को आज यहाँ उद्घाटन गर्दै उनले साना दलविना सरकार नै नबन्ने नकारात्मक सन्देश तोड्न वर्तमान सरकार बनेकाले यो निरन्तर अगाडि बढ्ने बताए । महासचिव पोखरेलले हालको संसद्मा दलहरूको उपस्थितिले गर्दा सरकार सञ्चालनको जनमत एमाले र कांग्रेसलाई मिलेर अगाडि बढ्ने रहेको भन्दै सोहीअनुसार सत्ता सहकार्य भएको धारणा राखे ।
नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धन सरकार विघटनको प्रशंग सुनाउँदै उनले ३२ सिट भइको पार्टीले एमाले र कांग्रेसभन्दा ठूलो भएको दम्भ देखाएकाले वर्तमान गठबन्धन बनेको जिकिर गरे ।
संसद्मा प्रतिनिधित्वका आधारमा कांग्रेस र मतका आधारमा एमाले पहिलो दल भएकाले जनताको मतको सम्मान गर्न र साना दलहरूको अनावश्यक दम्भ अन्य गर्न पनि वर्तमान सरकारले स्थायित्व पाउने महासचिव पोखरेलको भनाइ थियो ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वखानेपानीमन्त्री राजेन्द्रकुमार राई, प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेका थिए । आजबाट सुरु भएको ‘तीन महिने जरा अभियान’ पार्टी कमिटीको तल्लो तह र कार्यकर्ताहरूको समस्या समाधानमा केन्द्रित रहने एमाले जिल्ला कमिटी अध्यक्ष शिवआङ्ला लिम्बूले जानकारी दिए ।




