जलश्रोत/उर्जा

मन्त्रिपरिषदको निर्णय अनुसार नै अगाडी बढ्ने कुलमान घिसिङको प्रतिवद्धता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युतको बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् । बुधवार पत्रकार सम्मेलन गर्दै घिसिङले बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट गरेका हुन् ।

घिसिंङले भने- ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’

पत्रकार सम्मेलनले आफुलाई राजनीति गरेको आरोप लागेको बताउदै आफ्नो उद्देश्य देशको हित मात्र रहेको बताएका छन् । उनले आफुले लोकप्रियताका लागि कुनै काम नगरेको स्पष्ट गर्दै देशको कानुन अनुसार संस्थाको हित र देशको हितका लागि काम गरिरहेको बताए । आफुमाथि लागेका आरोपबाट आफु विचलित नहुने बताउदै प्राधिकरणको प्रयासमा सबै क्षेत्रको साथ पाउने अपेक्षा गरेका छन् ।

घिसिङले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएका उद्योगीहरुले पहिले दिइएको बिलअनुसार नै १५ दिनभित्र बक्यौता रकम तिर्नुपर्ने बताएका छन् । उनले प्राधिकरण कुनै पनि हालतमा अर्को बिल दिने पक्षमा नरेहेको उनको भनाइ छ । उद्योगीहरूले दिएका ९० वटा मुद्दा खारेज भएको बताउँदै घिसिङ्ले कुनै पनि प्रशासनिक निकायबाट बिल ठिक छैन भन्न सक्ने अवस्था नभएको उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *