काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले लोकतान्त्रिक मूल्य-मान्यतालाई नै आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गरेको बताए।
कतिपय सांसदहरूले सरकारको शासन प्रणालीप्रतिको दृष्टिकोणबारे प्रश्न उठाएपछि जवाफ दिँदै मन्त्री वाग्लेले लामो राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई सरकारले आधार मानेर अघि बढिरहेको उल्लेख गरे। उनका अनुसार सरकार ‘पाङ्ग्राको पुनः आविष्कार’ गर्न नभई पहिले प्राप्त उपलब्धिलाई थप सुदृढ र प्रभावकारी बनाउन केन्द्रित छ। “अग्रजहरूले ल्याएको उपलब्धिको जगमा उभिएर मात्रै नयाँ पुस्ताले अगाडि हेर्न सक्छ,” उनले भने, “हामी त्यही जगलाई मजबुत बनाउँदै अघि बढिरहेका छौँ।”
मन्त्री वाग्लेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीप्रति सरकारको प्रतिबद्धता पूर्ण रहेको पुनः दोहोर्याउँदै विगतका उपलब्धिलाई आधार बनाएर समृद्धि हासिल गर्ने लक्ष्य रहेको स्पष्ट पारे।




