
सत्ता शासनको चतुर खेलाडीको रूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल देखा परेका छन् । उनले संसदमा ८९ सिट भएको नेपाली काँग्रेस र ७८ सिट भएको नेकपा एमाले जस्ता विशाल दललाई खेत जोत्दा गोरु नारे झैँ नारेर हली भएर हिँडेका छन् । संसदमा जम्मा ३२ सिटको कमजोर तेस्रो दल भएर पनि उनले निरन्तर सरकार चलाइरहेका छन् । गत बुधवार उनी स्वयमले नै गर्वका साथ भने–तिन पटक विश्वासको मत लिइसकेँ तर सरकार मेरै छ,प्रधानमन्त्री मै छु । यसैले तपाइहरु सरकार ढल्छ कि भनेर चिन्ता नपर्नुस । उनले यसरी व्यापारीहरूलाई आश्वस्त पारे कि मानौँ पाँचै वर्ष आफ्नै नेतृत्वमा सरकार रहन्छ ।
त्यसो त महिना दिन अघि मात्र उनले उथलपुथल गरेर काङ्ग्रेसलाई लात हानि एमालेसँग अङ्कमाल गर्न पुगेका हुन । अघिल्लो सहमति अनुसार,उनी २ वर्ष प्रधानमन्त्री हुने थिए तर यो नयाँ सहमति अनुसार थप १५ महिना प्रधानमन्त्री हुनेछन् । यस्तो लाग्छ कि दाहाललाई जसरी पनि प्रधानमन्त्री हुनु छ र यसको लागि उनी जुनसुकै कदम पनि चाल्न तयार छन् ।कमजोर ३२ सिटको पार्टी र त्यसको अध्यक्ष भएर पनि पुष्पकमल दाहालका दुई ऊर्जाका स्रोत छन् । एक,भाजपा नेतृत्वको भारत । दुई,युरोपियन युनियन ।
पुष्पकमल दाहाललाई नचिन्नेहरू उनी चीनसँग नजिक छन् र उसैको कारण सरकार र गठबन्धन फेरियो भन्दछन् तर न उनी हिजो चिनिया पक्षमा थिए न आज छन् । दस वर्षसम्म युद्ध गर्दा पनि उनी भारतमा लुक्ने र युरोपियनको गोली चलाउने गर्दथे । भारतको कम्युनिस्ट पार्टी र भारतीय काँग्रेस कमजोर भएपछि नेपाली काँग्रेस र नेकपा एमाले भारतको आशीर्वाद पाउन असफल भइरहेका छन् । र,भारतमा पनि भाजपा अचानक सत्तामा आयो तर उसले नेपालमा आफ्नो अनुकूलको दल फेला नपारिरहेको बेलामा माओवादी केन्द्र उसको तावेदार भएर उपस्थित भएको छ । अध्यक्ष दाहालले भारत भ्रमणको बेलामा रामनामी ओढेर आफु भाजपाको हिन्दुधर्मको लाइनको पक्षधर भएको सन्देश दिइसकेका छन् भने भाजपाले उनलाई सत्तामा बोकिरहने जनाउ दिएको छ । अर्थात्,दाहाल भारतको बलमा नेपालमा काँग्रेस र एमालेको टाउकोमा उफ्रिरहेका छन् ।
तर,अब अति भो । किनभने संसदीय लोकतन्त्रमा सरकार बनाउने पहिलो जिम्मेवारी पहिलो दलले पाउँछ भने यो सम्भव नभएमा दोस्रो दलले मौका पाउँछ तर पहिलो र दोस्रो दल बाहिर बसेर तेस्रो दलले सरकार चलाएको अब असह्य हुँदै गएको छ । किनभने पहिलो र दोस्रो दलले चाहेर सरकार न बनिरहेको छ न भत्किरहेको छ । तर तेस्रो दलले चाहेको दिन सरकार बन्ने र बदल्ने काम भइरहेको छ । लोकतन्त्रको यो भन्दा भद्दा मजाक अरू के हुन्छ ?
पुष्पकमल दाहालको अहिले दुई काम रहेका छन् । एक,काँग्रेस–एमाले मिल्न नदिने दुई,भारतलाई ब्यालेन्स गर्ने । प्रधानमन्त्री दाहालले काँग्रेस–एमाले नमिल्नु मात्र होइन, यिनलाई नियन्त्रणमा राख्न अर्को शैली पनि अपनाइरहेका छन् । उनले यी दुई दलले सरकारमा रहदा गरेका अनेक कर्तुतको पर्दाफास गर्ने चेतावनी दिएर उनीहरूलाई दबाब राखेका छन्–कहिले वाइडवडी त कहिले भुटानी शरणार्थी काण्डका फाइल खोलेर ।
तर,सधैँ यस्तो अवस्था कायम रहन्न । अहिले भारतमा चुनाव भइरहेको छ । यस कारण भारतले नेपालका बारेमा खास चासो राखिरहेको देखिन्न । तर,जब चुनाव सकिन्छ,अवस्था बदलिन सक्छ । र,नेपालको घरेलु वातावरण पनि अब बिस्तारै परिवर्तन हुदैछ । वर्ष दिनमा तिन पटक उथलपुथल गरेका प्रधानमन्त्री दाहालको चमक दमक बढी नै भएको कुरा यति वेला काँग्रेस–एमालेलाई आभाष छ । यसैकारण,अब दुई काम हुन सक्नेछ ।
एक,यो गठबन्धन ढालेर प्रजातान्त्रिक खेमाको मात्र सरकार दुई,काँग्रेस–एमाले मिलेर नयाँ सरकार । गत बुधवार साँझ काँग्रेस नेता डा।नारायण खडकाको निवास गोल्फुटारमा भएको शेरवहादुर देउवा र माधव कुमार नेपालको गोप्य वार्तालाई गठबन्धनको नयाँ सिराबाट सोच्न थालिएको सङ्केतको रूपमा लिन सकिन्छ । यस लगत्तै सुदुरपश्चिको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादी पाइसकेको छ । तर,यो सरकारमा एमाले तत्काल नजाने भनेर बसेको छ । अर्थात्,माधव नेपालको कारण,नयाँ गठबन्धनमा चिसोपन थपिएको छ–जहाँ काँग्रेसले फेसोको काम गरेको छ । घटनाक्रमले अबको राजनीति यही मोडमा जाने देखिन्छ । र,बजेटसम्म यो सरकार र दसैँसम्म नयाँ सरकारको मोडल तयार हुनेछ ।