राजनीति

प्रधानमन्त्री असक्षम, विपक्षी दल मौन

हामीले देखिरहेका हुन्छौं, सार्वजनिक सवारीसाधन आउनेबित्तिकै सर्वसाधारणहरूबीच भागदौड मच्चिन्छ । गाडी गुडिरहेको हुन्छ, तैपनि सर्वसाधारण ज्यानको बाजी राखेरै चढ्छन् । चाहे त्यो गाडीमा सिट होस् या नहोस् । ढोकैसम्म झुन्डिएर यात्रा गर्न पनि सर्वसाधारण तयार छन् ।

किनकि उनीहरूलाई आफ्नो गन्तव्यमा पुग्न हतारो भइरहेको हुन्छ । उसै पनि गाडी पर्याप्त छैन, भागेनन्, कुदेनन् वा ज्यानको जोखिम राखेनन् भने गाडी छुटिहाल्छ । अर्को गाडी कुर्दा त थप समय खेर जान्छ । समय निकै महत्वपूर्ण छ । समय घुमिफिरी आउँदैन । समय समात्न सक्ने व्यक्ति मात्र आफ्नो लक्ष्यमा पुग्छ । तर, यो कुरा हाम्रो देशको राजनीतिज्ञहरू बुझ्दैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद सम्हालेको १४ महिना बितिसकेको छ । यो अवधिमा उनले दौरा सुरुवाल लगाउने र साइरनवाला गाडीमा हुइँकिनेबाहेक केही काम नै गरेनन् । यो अवधिमा प्रचण्डले देश र जनताको हितमा एउटा पनि निर्णय गरेका छैनन् । प्रधानमन्त्री प्रचण्डको असक्षमता पुष्टि भइसकेको छ, तर विपक्षी दल भने मौन छ ।

प्रधानमन्त्रीको राजीनामा माग्ने आँट विपक्षीसँग छैन । सरकारबाहिर बस्ने दलहरू यति कमजोर भए कि यिनलाई विपक्षी भन्न पनि लाज लाग्ने अवस्था बनेको छ । विपक्षी दल प्रधानमन्त्रीको सामुन्ने निरीह छ । जसले गर्दा देश बर्बाद र जनता कंगाल भइसक्दासमेत उनीहरू चुइँक्क बोलेका छैनन् ।
विपक्षी दह्रो भए प्रचण्डलाई एक सय दिन टिक्न पनि गाह्रो थियो । तर, विपक्षी कमजोर भइदिँदा उनी १४ महिना टिके । विपक्षी दलका नेताहरू भने चार वर्षपछिको सपना बोकेर हिँडेका छन् । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले अर्को चुनावको प्रक्षेपण अहिले नै लगाउन थालेका छन् । ‘मिसन २०८४’ को अभियानमा छन्, यी दलहरू ।

८४ सम्म यिनीहरू देशमा रहलान्, नरहलान् थाहा छैन । अहिलेकै अवस्था रह्यो भने जनताले सबैलाई लखेट्न बेर छैन । अनि मिसन ८४ को एजेन्डा बोकेर के फाइदा ? अहिले देशमा के भइरहेको छ ? जनता कुन अवस्थाबाट ग्रुजिएका छन् ? यसमा कसैको ध्यान छैन ।
चुनावअघि राष्ट्र र जनताको बारे ठूल्ठूला भाषण गर्नेहरू चुनाव जितेपछि आफूले गरेका बाचा बिर्सिन्छन् । फेरि यस्तै मिसनको एजेन्डा बोकेर हिँड्छन् । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह बालेन आएको २० महिना भयो । उनले यो अवधिमा धेरै काम गरे । अन्तर्राष्ट्रियस्तरमा समेत उनको चर्चा छ । एउटा मेयरले त त्यत्रो काम गरे भने देशका प्रधानमन्त्री, मन्त्री, सांसद्हरू हात बाँधेर बसेका छन् ।

निर्वाचन भएको एक वर्ष कटिसक्यो, तर एउटा मात्र विधेयक सदनबाट पारित भएको छ । मासिक अर्बौं रूपैयाँ सांसदहरूको तलबभत्ता र सेवासुविधामा खर्च भएको छ । तर, उपलब्धि के ? सबै मिलीजुली राज्यको ढुकुटी लुट्ने खेलमा छन् । सत्ता र विपक्षी दुवै खाने । देशको ढुकुटीले धान्न छोडिसकेको छ ।
२०७९ मंसिर ४ गते भएको चुनावमा माओवादीले जम्मा ३२ सिट जित्यो । त्यसबाटै माओवादीबाट जनताको विश्वास उठिसकेको देखिएको थियो । जनतालाई के थाहा छ भने प्रचण्डसँग काम गर्ने क्षमता छैन । उनलाई टाउको हल्लाउन र आश्वासन दिन मात्र आउँछ भन्ने कुरा जनतालाई राम्रो जानकारी थियो । जनताले नपत्याएको पार्टीका अध्यक्ष अहिले देशको प्रधानमन्त्री छन् ।

एमालेका अध्यक्ष केपी ओलीले आफ्नो स्वार्थका निम्ति प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरे । पहिलोचोटि उनले २६८ जना सांसदको विश्वासको मत पाए । जनताले नपत्याएर ३२ सिटमा सीमित बनाएकालाई दलहरूले पत्याए । जनताले पाखा लगाउँछन्, राजनीतिक दलहरूले आफ्नो फाइदाका लागि काखा च्याप्छन् ।

प्रचण्डलाई विश्वासको मत दिने सांसदहरू अब जनतासामु गएर के भन्छन् ? कुन मुख लिएर जनताकहाँ जान्छन् ? प्रचण्डले हरेक हप्ता मन्त्रिपरिषद्बाट विदेशी ऋण स्वीकृत गर्छन् । विदेशी ऋण झन्डै २४ खर्ब रूपैयाँ पुग्न थालिसकेको छ । देशको आर्थिक स्थिति नाजुक अवस्थामा पुगेको छ । राज्यको ढुकुटीमा राजश्व उठ्न छोडिसकेको छ । आर्थिक मन्दीका कारण व्यापारीहरू मर्कामा परेका छन् । जनतासँग पैसा छैन । बिहानबेलुका गर्जो टार्न सर्वसाधारणलाई समस्या परेको छ । बेरोजगारी ह्वात्तै बढेको छ । विदेश पलायन हुने नेपालीको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

देश छोड्नेको लर्को विमानस्थलमा देख्न सकिन्छ । व्यापार–व्यवसाय डुबेर व्यापारीहरूले आत्महत्याको बाटो रोजिरहेका छन् । सहकारीले पैसा खाइदिएर बचतकर्तामा परेको पीडाको बयान गरिसाध्य छैन । सरकारी अड्डामा भ्रष्टाचार व्याप्त छ । सरकारी कर्मचारीहरूको ‘कामचोर’ प्रवृत्ति रोकिन सकेको छैन । आएर हाजिर गर्ने अनि घरतिर कुलेलम ठोक्ने क्रम जारी छ ।

सटर, कोठा, फ्ल्याट खाली हुने क्रम दिनप्रतिदिन बढिरहेको छ । यो सरकारी असफल भइसक्यो भन्ने कुरा भारी बोकेर जीविकोपार्जन गर्नेलाई थाहा छ । विडम्बना, विपक्षी दलका नेतालाई थाहा छैन । विपक्षमा बसेका कुनै दलसँग राजनीति गर्ने क्षमता छैन । तिनलाई पनि जनता झुक्काउनेबारे मात्र थाहा छ । कुनै आठ कक्षा पढेका छन् । कुनै टेलिभिजनमा चिच्याउँथे त कुनै राजाको झोला बोकेर आएका छन् । सर्वसाधारणले यो सरकार हटाउनुपर्ने माग राख्न थालिसकेका छन् । देश जटिल अवस्थाबाट गुज्रिरहेको छ, तर नागरिक समाज, विद्यार्थी संगठन, बुद्धिजीवी, अभियन्ताहरूले चुइँक्क आवाज निकालेका छैनन् ।

सरकारले काम गर्न सकिरहेको छैन, तैपनि सबै खुट्टा कमाएर बसेका छन् । कोहीसँग सरकारको विरोधमा बोल्ने आँट छैन । विपक्षीले जनताले दिएको भोटको समेत कदर गर्न सकेनन् । जनता निकै अप्ठेरो अवस्थामा छन्, तर उनीहरू वास्ता गर्दैनन् । विपक्षी दलहरू आफ्नो व्यक्तिगत स्वार्थमै केन्द्रित छन् । जसको फाइदा प्रचण्डलाई भएको छ । विपक्षीले बोल्दैनन्, अब जनताले नै बोल्नुपर्छ । यस्तै पारा भयो भने देश विकास होइन, विनाश चाहिँ हुन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *