काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई सात दिने स्पष्टीकरण सोधेका छन् । स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलको निलम्बनको चर्चा सेलाउन नपाउँदै बालेनले निलम्बन गर्ने उद्देश्यले कोइरालालाई स्पष्टीकरण सोधेका हुन् ।
सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी भर्ती गर्दा कार्यपालिकाको निर्णय कीर्ते गरेको फेला परेपछि स्वास्थ्य विभाग प्रमुख पौडेल निलम्बनमा परेका थिए । उनको निलम्बन अझै फुकुवा भइसकेको छैन । निलम्बनको प्रक्रिया पूरा गर्न बालेनले कोइरालालाई सात दिने स्पष्टीकरण पत्र बुझाएका छन् । प्रक्रिया पूरा भएसँगै शिक्षा विभाग प्रमुख कोइरालालाई निलम्बन गर्न बालेनको तयारी छ । काठमाडौं महानगरपालिका–१० रत्नराज्य स्कुललाई विज्ञान संकाय पढाउन अनुमति दिँदा कोइरालाले बदमासी गरेको भेटिएपछि उनलाई निलम्बन गर्न लागिएको हो ।
मेयरको अध्यक्षतामा रहेको नगर शिक्षा समितिलाई भएको अधिकार शिक्षा विभाग प्रमुख कोइरालाले प्रयोग गरेको तथ्य भेटिएपछि उनी निलम्बनमा पर्ने निश्चित देखिन्छ । ‘विज्ञान संकाय सञ्चालनको अनुमति दिने अधिकार नगर शिक्षा समितिलाई हुन्छ । त्यसको अध्यक्ष मेयर हुने व्यवस्था छ, तर शिक्षा विभाग प्रमुख कोइरालाले शिक्षा समितिको निर्णय नभई रत्नराज्य स्कुललाई विज्ञान संकाय सञ्चालनको अनुमति दिने निर्णय गरेको फेला परेपछि निलम्बनको प्रक्रिया अघि बढेको हो ।
महानगरपालिकामा हुने सिन्डिकेट र सेटिङ तोड्न लागिपरेका बालेनले हालसम्म तीनजना उच्च अधिकारीलाई फायर गरिसकेका छन् । सुरुमा उनले महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई निलम्बन गरेका थिए । उनको ठाउँमा ३४ वर्षीय प्रदीप परियार आइसकेका छन् ।




