राजनीति

सिटौलाको व्यवस्थापनलगत्तै राप्रपाले कोशीमा सभामुख लिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशमा सत्ता गठबन्धनसँग सहकार्य गर्न तयार भएको छ । नेपाली कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएलगत्तै राप्रपा कोशीमा गठबन्धनसँग मिल्न लचक भएको हो ।

कोशी प्रदेश सभा विघटन हुन नदिन सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिन प्रस्ताव गरेको थियो । तर आइतबारसम्म राप्रपा पर्ख र हेरको अवस्थामा थियो । सोमबारदेखि नै राप्रपा सभामुख लिन तयार देखिएको छ ।

कोसी प्रदेशमा सभामुखको टुंगो लगाउन दलहरूको बैठक जारी छ । कोसी प्रदेशसभा सचिवालयमा छुट्टाछुट्टै रूपमा प्रमुख दलहरूको संसदीय दलको बैठक बसेको हो । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठक भने भर्खरै सकिएको छ । प्रमुख प्रतिपक्ष दल एमाले दलको बैठक पनि बसिरहेको छ ।

कांग्रेस संसदीय दलको बैठकमा सभामुख चयन प्रक्रियालगायत विषयमा छलफल गरिने सांसद अमृत अर्यालले जानकारी दिए । राप्रपाले भने दलीय सहमतिका आधारमा सभामुख पद लिने निर्णय गरेको छ । बैठकमा राप्रपा प्रदेश समितिका सभापति राम थापासहित पदाधिकारीसमेत सहभागी थिए ।

सत्ता गठबन्धनले सभामुख पद राप्रपालाई दिएर अघि बढ्ने तयारी गरिरहेको छ । सिटौला राष्ट्रिय सभामा जाने भएपछि असुरक्षित महसुस गरेका राजेन्द्र लिङ्देन अहिले दंग देखिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *