देश

निरंकुश बन्दै प्रहरी, नागरिकलाई ज्यान बचाउन मुस्किल

काठमाडौं । पछिल्लो समय सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरू असंवेदनशील हुँदै जान थालेका छन् । देशमा हुने गरेका विभिन्न आन्दोलन नियन्त्रण र भौतिक क्षति हुन नदिन सरकारले तालिम दिएर फिल्डमा परिचालन गरे पनि उनीहरू तालिमप्राप्त भएको जस्तो देखिँदैनन् ।

सुरक्षामा परिचालन गरिएका प्रहरी कर्मचारीहरू नै असंवेदनशील र आक्रोशित मुद्रामा आएर आन्दोलन व्यवस्थापनमा विभिन्न प्राथमिक उपाय नपनाई भिडलाई नियन्त्रणमा लिन गोली चलाउन थालेपछि अहिले नागरिकहरूलाई ज्यान जोगाउन मुस्किल भएको छ । तत्काल घटेको घटनाका आधारमा प्रहरी अधिकृतहरूले फिल्डमा खटिएका प्रहरीहरूलाई आन्दोलन नियन्त्रणमा लिन विभिन्न उपाय अपनाउन आग्रह गरे पनि आन्दोलन नियन्त्रणमा खटिएका प्रहरीहरूले भिड नियन्त्रणमा सिकार खेल्नै शैलीले एक्कासि गोली चलाउने गरेका छन् । जसकारण अहिलेसम्म तीनजनाले अकालमा ज्यान गुमाउनु परेको छ ।

पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा सुरक्षा प्रदान गर्ने क्रममा आन्दोलन नियन्त्रण गर्न वैकल्पिक उपायको प्रयोग नगरी एक्कासि प्रहरीले चलाएको गोली लागेर अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउत मारिए । यो विषय राष्ट्र तथा अन्तर्राष्ट्रिय जगतमै दुःखदायी घटना हो । गत गत शुक्रबार सर्लाहीको बरहथवामा स्वास्थ केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको विवाद तथा प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट ३० वर्षीय जयशंकर साहको मृत्यु भयो ।

सुरक्षामा खटिएका प्रहरीले कुनै पनि आन्दोलन नियन्त्रण लिन पानीको फोहोरा, अश्रुग्याँस, हवाई फायर, लाठ्ठी चार्ज, पक्राउ गरेर नियन्त्रण, रबरको गोलीको प्रयोग, गोली नै चलाउनुपर्ने अवस्था सिर्जना भए घुँडामुनि हान्ने नियममा उल्लेख छ । त्यो सबै तालिम प्रहरी अधिकृतहरूले सिपाईलाई तथा अन्य दर्जाका कर्मचारीहरूलाई दिइएको हुन्छ । तर पछिल्लो समयमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले भिडलाई नियन्त्रण गर्न कुनै पनि वैकल्पिक उपाय नपनाईकन सिधै गोली प्रहार गर्ने गरेका छन् ।

बालकुमारी घटनाको आलो घाउ नसुकी सर्लाही घटनामा प्रहरीले चलाएको गोली लागेर साहको मृत्यु भएपछि सुरक्षाबारे चर्को आलोचना भएको छ । अहिले प्रहरीले जनतालाई प्रदान गर्दै आएको सुरक्षा निरंकुश भएको भन्दै आपत्ति जनाइरहेका छन् ।

सर्लाहीको बरहथवा घटनामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय तानिएका छन् । उक्त घटनामा जिल्ला प्रशासन कार्यालयले गोली चलाउने आदेश नदिए पनि हवलदार यादवले भिड नियन्त्रणमा लिन गोली चलाउनाले एक व्यक्तिको अकालमै ज्यान गयो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी प्रवीण धितालका अनुसार उक्त घटनापछि थप अनुसन्धाका लागि हवल्दार यादवलाई जिल्ला तानेर सोधपुछ गरिरहेको छ ।
आगामी दिनमा यस्ता अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरूलाई विशेष तालिम दिन आवश्यक छ ।

प्रहरी हवल्दारले किन टाउकैमा गोली हाने ? प्रहरीले गरेको गोली फायरले भिड नियन्त्रण होइन, ज्यान मार्ने लक्ष्यका साथ चलाइएको प्रमाण दिन सक्छ । सरकारले अब यसरी वैकल्पिक उपाय प्रयोग नगरी घुँडाभन्दामाथि गोली चलाउने प्रहरीलाई जागिरबाटै बर्खास्त गर्नुपर्ने आवाज उठ्दै गएको छ ।

नत्र सरकारले उनीहरूको जागिर बचाउने काम ग¥यो भने आगामी दिनमा हुने अन्य प्रदर्शनका क्रममा पुनः यसरी नै गोली चलेर अन्य नागरिकले अकालमै ज्यान गुमाउने अवस्था नआउला भन्न सकिँदैन । त्यो अवस्था आउन नदिन अहिले नै सरकारले दुई घटनाका दोषीलाई कारबाही गर्दै अगाडि बढ्नुपर्छ । सरकारले राजनीति चलखेलबाट अपराधीलाई चोख्याउने काम गर्नुहुँदैन ।