काठमाडौं । गत वर्ष पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने बेला नेपाली कांग्रेसले आफूले सहयोग गर्ने घोषणा गरेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न राष्ट्रपति निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसले संसदमा रहेका सबै दलको साथ चाहिने भएकाले आफ्नो दलले प्रचण्डलाई विश्वासको मत दिने बताएका थिए ।
प्रतिनिधिसभा बैठकमा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने संकेत गरेपछि एमाले अध्यक्ष केपी ओलीले सम्बोधनका क्रममा कांग्रेसले थापेको ढोक्सामा माछा नपर्ने घोषणा गरेका थिए । त्यसबेला एमाले र माओवादीको सरकार थियो । तर फागुन लाग्दा नलाग्दै एमाले र माओवादी गठबन्धनमा दरार आइसकेको थियो ।
रास्वपाले माघमै सरकार छाडेको थियो । त्यसलगत्तै राप्रपा सरकारबाट बाहिरियो । एमाले भने फागुन १५ गते सरकारबाट बाहिरियो । फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल विजयी भए । एमालेका सुवासचन्द्र नेम्वाङ पराजित भए । कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर थापेको ढोक्सामा राष्ट्रपति पारेको थियो ।
एक वर्षपछि अहिले फेरि एमालेले ढोक्सा थापेको छ । माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा एमालेले टीआरसी विधेयक, एनसेलको सेयर खरिदबिक्री, टेरामक्स खरिदलगायतका कारण देखाएर एमाले अध्यक्ष केपी ओलीले ढोक्सा थापेका छन् । ओलीले थापेको ढोक्साले राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई शून्य बनाउनबाट रोक्ने सो पार्टीका नेता कार्यकर्ता बताउँछन् । तर ओलीले ढोक्सा थाप्न खोजेको अहिलेको कांग्रेससँगको गठबन्धनलाई भत्काउने दीर्घकालीन रणनीति भएको देखिएको छ ।
मन्त्रिपरिषद् हेरफेरमा प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मतभेद छ । आफ्नो सरकारले सोचेअनुसार काम गर्न नसकेकामा प्रधानमन्त्री प्रचण्ड नै असन्तुष्ट छन् । कांग्रेस मन्त्रीका कारण आफ्नो सरकारको कार्यसम्पादन फितलो हुने अवस्था आए उनी अर्को गठबन्धनका लागि विकल्प तयार गर्न चाहन्छन् । त्यसका लागि उनले ओलीसँग दूरी घटाउँदै लगेका छन् । त्यही भएर अहिले प्रचण्ड ओलीलाई राष्ट्रिय सभामा सिट भागबन्डा दिन आत्तुर रहेको बुझिएको छ ।
राष्ट्रिय सभाको २० मध्ये १९ सिटमा निर्वाचन हुँदैछ । अहिलेको सत्ता गठबन्धन मिलेर चुनावमा भाग लिए १९ सिट नै जित्नेछन् । एक सिट राष्ट्रपतिले मनोनीत गर्ने भएकाले २० सिटमै एमाले शून्य हुने छ । तर एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय सभामा आफ्नो दललाई शून्य नबनाउन आग्रह गरेपछि अहिले सत्ता गठबन्धनमा छलफल सुरु भएको छ ।
एमाले प्रतिपक्षी दल हो । तर उसले गठबन्धनसँगै मिलेर जाने प्रस्ताव राख्नुले एमाले पनि सत्ता गठबन्धनमा आबद्ध हुने देखिएको छ । यसले आगामी दिनमा एमालेको प्रतिपक्षीको हैसियतसमेत सकिने देखिएको छ । सामान्यतः प्रतिपक्षी दलले चुनावमा सत्ता गठबन्धनसँग भागबन्डा खोज्दैन । तर एमालेले संसदमा रहेको टीआरसी विधेयकमा सहयोग गर्न नसक्ने देखाएर प्रधानमन्त्री प्रचण्डसँग ब्ल्याकमेल गर्न खोजेको देखिएको छ ।




