काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पूर्वसञ्चारकर्मी पनि हुन् । सञ्चार क्षेत्र छाडेर एकाएका राजनीतिमा हामफालेका रविविरुद्ध धेरै उजुरी प्रेस काउन्सिल र अदालतमा पनि परेको छ ।
न्युज २४ टेलिभिजन, ग्यालेक्सी फोरके टेलिभिजन, अमेरिकी नागरिता लिएर नेपालमा श्रम गरिरहेको भन्दै उनीविरुद्ध काउन्सिल र अदालतमा मुद्दा परेको थियो । काउन्सिलले त रविसँग सूचना विभागको कार्डसमेत नभएकै अवस्थामा पत्रकारिता गरिरहेको भन्दै अवैधानिक घोषणा गरेको थियो । आफ्नो हर्कत काउन्सिलले सार्वजनिक गरिदिएपछि उनी रुष्ट थिए ।
मंगलबार उनले कान्तिपुर पब्लिकेसन्सविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् । कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानलगायतलाई प्रतिवादी बनाइएको रिट निवेदनमा लामिछानेले आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवमा समेत गम्भीर असर पुर्याउने मनसाय राखी जानुबुझी चरित्र हत्या गरेको उल्लेख गरेका छन् ।
कान्तिपुर र इकान्तिपुरबाट आफूलाई जोडेर प्रकाशित समाचारबाट आफू र आफ्नो परिवारको इज्जत प्रतिष्ठा र राजनीतिमा समेत हानी नोक्सानी भएकाले प्रतिवादीहरुबाट कानूनअनुसार सांकेतिक रूपमा १५१ रुपैयाँ क्षतिपूर्ति दिलाउन उनको माग छ । पूर्वसञ्चारकर्मी रवि प्रेस काउन्सिल नेपालमा नगएर सिधै अदालत गएको विषयले विगतको घटनासँग जोडेर हेर्न थालिएको छ ।
कुनै पनि मिडियामा आएका समाचार, लेखरचनाले कसैको व्यक्तिगत स्वतन्त्रतामा आँच आए, मानमर्दन र चरित्र हत्या गरे नगरेको ठहर प्रेस काउन्सिलले गर्दै आएको छ । काउन्सिल अर्धन्यायिक निकाय पनि हो । तर रवि एकैपटक अदालत किन गए भन्ने अर्थपूर्ण मानिएको छ ।
अदालतबाट आफूमाथि चरित्र हत्या भएकोमा कान्तिपुरलाई दण्डित गर्न पाए आफ्नो राजनीतिक दूनो सोझिने उनको विश्वास छ । तर सहकारी ठगीमा जोडिएको व्यक्तिलाई उल्टै कारबाहीका लागि अदालतमा मुद्दा हाल्नुपर्नेमा रवि एक कदम अगाडि बढेर आफैं अदालत पुग्नुलाई उनले ‘खुट्टा उठाएको’ विश्लेषण गरिएको छ ।
रिट दर्तापछि उनले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा लेखेका छन्, ‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन । हार जीतको पर्बाह नगरी ऊ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन । तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन ।
मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिए–देखिए लगायतका अन्य विषयमा समेत कानूनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्ये सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।
मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानूनी उपचारमा गएको छु।’ तर रविले आफूविरुद्ध आएको समाचारबारे सामाजिक सञ्जालमा मात्र खण्डन गरेका छन् । सम्बन्धित मिडियालाई पठाएको देखिन्न । यसले पनि रविले सुरुमै आफू कमजोर रहेको प्रमाण दिइसकेका छन् ।




