देश

कांग्रेसमा सक्रियता बढाउँदै बालकृष्ण खाँण

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका कांग्रेस नेता बालकृष्ण खाँणले राजनीतिक सक्रियता बढाएका छन् । पार्टीका केन्द्रीय तहका नेताहरूसँग भेटघाट र छलफल कार्यलाई अगाडि बढाउने क्रममा उनले मंगलबार कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीसँग भेट गरेका छन् ।

कांग्रेसभित्र हिन्दु राज्यको बहस चलाइरहेका नेता भण्डारी र खाँणबीच महाराजगञ्जस्थित भण्डारीको सम्पर्क कार्यालयमा भेटवार्ता भएको हो । ‘पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणज्यूलगायत पार्टीका साथीहरुसँग आज भेटघाट भएको छ । भेटघाटका क्रममा नेपाली कांग्रेस पार्टीको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिको विषयमा केहीबेर छलफल गर्ने अवसर मिलेको थियो,’ भण्डारीले भने ।

भेटवार्ताका क्रममा पार्टीको आसन्न महासमिति बैठक र राष्ट्रिय राजनीतिको विषयमा छलफल भएको बताइन्छ । भण्डारीले पूर्वगृहमन्त्री खाँणलाई हिन्दु सनातन राज्यको एजेन्डामा उभिन आग्रह गरेका थिए । नेता भण्डारीले वैदिक सनातन हिन्दू राष्ट्र घोषणा, प्रदेश खारेजी र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए । उनले राखेका यी विषयहरूलाई खाँणले समेत सकारात्मक रूपमा लिएको उनको सचिवालयले जनाएको छ ।

हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका खाँण हिन्दु राष्ट्र पुनःस्थापना अभियानमा लाग्ने संकेत गरेका छन् । कांग्रेसमा हिन्दु राज्य पुनःस्थापनाको अभियान स्व.खुमबहादुर खड्काले अघि बढाएका थिए । तर उनको असामयिक निधनसँगै त्यो एजेन्डा अहिले अलपत्र छ । केही समयअघि भण्डारीले पुष्पा भुसाल, देवेन्द्र कँडेललगायतसँग हिन्दु राज्य पुनःस्थापना अभियानबारे छलफल गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *