काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि एकपटक विवादमा तानिएका छन् । पोखरा महानगरपालिकाको छानबिन प्रतिवेदनमा रविले सूर्यदर्शन सहकारीबाट एक करोड ऋण लिएको देखिन्छ। सहकारीका सदस्यले मात्र पाउने सहकारी ऋण रविले सदस्य नै नभई लिएको खुलेको छ ।
तर रविले यसबारे ‘मलाई थाहा छैन, मेरो नागरिकता दुरुपपयोग भाको होला’ भनिरहेका छन् । रवि र जीबी राई मिलेर ग्यालेक्सी फोरके टेलिभजन सञ्चालनमा ल्याएका थिए । टेलिभिजनमा १५ प्रतिशत सेयर रहेको रवि आफैंले खुलासा गरिसकेका छन् । जब सूर्यदर्शन सहकारीको डेढ अर्ब पनि हिनामिना गरेको तथ्य खुल्यो, जीबी राई फरार भए ।
अहिले टेलिभजन पनि बन्द छ । रविले डेढ वर्षअघि नै टेलिभिजन छाडेर रास्वपा खोलेर राजनीतिमा होमिए । पार्टीले सानदार मत पनि ल्यायो । उनी उप्रधानमन्त्रीसहित गृहमन्त्री पनि भए । दोहोरो नागरिकता काण्डले उनको सांसद पद गुम्यो । तर पनि नयाँ नागरिकता बनाएर उनले उपनिर्वाचन जिते ।
रविको पुरानो नागरिकता जुन नक्कली हो, त्यो नै प्रयोग गरेर एक करोड ऋण लिएको खुलेपछि अब यो केस कसरी अघि बढ्छ भन्ने चासो बढेको छ । यदि शनिबार पोखरामा आयोजित जनसभामा लमजुङका सन्तोष रानाभाटले रविमाथि खोया प्रहार नगरेको भए यो काण्ड बाहिर आउने थिएन । जे भए पनि अब रवि कानुनी दलदलमा फसेका छन् ।
हिजो दोहोरो राहदानी प्रकरणमा प्रचण्ड सरकारले दिएको उन्मुक्ति जस्तै सहकारी ठगी प्रकरणमा पनि रविले उन्मुक्ति पाउँछन् कि आफ्नो नागरिकता अरुलाई प्रयोग गर्न दिएको काण्डमा सजायको भागीदार बन्छन् ? त्यो भने केही दिनमै खुल्नेछ । तर रविको अनुमतिविना कसैले पनि उनको नागरिकता प्रयोग गरी एक करोड लिन सक्छन् भन्ने कसैले पनि सोचेको छैन ।




