देश

सुर्तीजन्य पदार्थ नियन्त्रणमा संघीय सरकारलाई बालेनको चुनौती

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साहले महानगरपालिकाभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा रोक लगाउने निर्णय गरेका छन् । आगामी मंसिर २७ गतेबाट सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउन महानगरपालिकाले १५ दिने सूचना सार्वजनिक गरिसकेको छ । सुर्तीजन्य पदार्थ जस्तै चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपरागलगायतका पदार्थ कसैले बिक्री गरेको पाइएमा नगर प्रहरीले सामान जफत गर्ने महानगरपालिकाले जनाएको छ । मेयर बालेनले हरेक अभियान सञ्चालन गर्नुभन्दा अगाडि सूचना सार्वजनिक गर्ने गरेका छन् ।

काठमाडौं महानगरले जारी गरेको जनस्वास्थ्य ऐनको दफा ४२ अनुसार सुर्ती तथा जाँड–रक्सीजन्य पदार्थ बिक्रीमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको महानगरले जनाएको छ । सहरको स्वच्छता र वातावरणीय सुधारका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण पहिलो सर्त रहेको र दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि महानगरले सडकपेटीमा सञ्चालनमा रहेका फुटपाथ पसलहरू हटाएर देशव्यापी रूपमै सडकपेटीमा सञ्चालन गरेका पसलहरू हटाउनुपर्ने सन्देश प्रवाह गरेपछि अन्य विभिन्न नगरपालिका तथा गाउँपालिकाले सो अभियानलाई नै प्राथमिकता दिएका थिए ।यस्तै, महानगरपालिकाभित्र अवैधानिक रूपमा स्थापना गरिएका अस्थायी संरचना हटाउने कामलाई समेत महानगरपालिकाले अभियानकै रूपमा अघि बढाएको थियो ।

त्यसपछि काठमाडौंँ आसपासका छिमेकी स्थानीय तह र उपत्यका बाहिरका विभिन्न स्थानीय तहले समेत अवैधानिक रूपमा स्थापना गरिएका संरचनाहरू हटाउने कामलाई तीव्रता दिएको थियो । यस्तै, उपत्यकामा थुप्रिएर रहेको फोहोर व्यवस्थापनमा समेत महानगरपालिकाले अभियानकै रूपमा अगाडि बढाएपछि उपत्यकाभित्र र बाहिरसमेत उक्त अभियानले प्राथमिता पाएको थियो ।

महानगरपालिकाले सुन्दर सहर निर्माणलाई जोड दिँदै थालेको अभियानमा विभिन्न राजनीति दलका नेता तथा कार्यकर्ताहरूले अवरोध जनाए पनि मेयर बालेनले आफ्नो अभियानबाट पछि नहटी अभियानलाई पूर्णता दिएरै छाडे । बालेनको कामको नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा समेत चर्चा छ । सामाजिक सञ्जालमा सक्रिय रहेका बालेनले बेलाबेला विभिन्न अभिव्यक्ति दिने गरेका छन् । जसले उनी विवादमा पर्ने र चर्चा बटुल्ने गर्छन् ।

महानरपालिकाले थालेको अभियानको सन्देश देशव्यापी रूपमै पु¥याउन लागिपरेका बालेनको निर्देशनको कार्यान्वयन कस्तो हुने हो त्यो भने हेर्न बाँकी छ । सरकारले सुर्तीजन्य पदार्थमा ठूलो लगानी फसाएर उत्पादन गरिरहेको छ । यसरी सरकारले मानव स्वास्थ्यका लागि हानीकारक वस्तुको बिक्री तिररण गरेर आमनागरिकलाई रोगी बनाइरहेको छ । धूमपान जस्ता विभिन्न सुर्तीजन्य पदार्थको सेवनले सेवनकर्ता र अन्य व्यक्ति दुबैलाई असर गर्छ । वातावरण प्रदूषणमा समेत सुर्तीजन्य पदार्थले ठूलो असर गरेको छ । यसको नियन्त्रण गर्नुको सट्टा व्यापारका लागि मलजल गर्ने सरकारविरुद्ध महानगरपालिकाले चालेको कदम चुनौतीको रूपमा खडा हुनेछ ।

काठमाडौं महानगरपालिकाले चालेको अभियानलाई उपत्यकाका आमनागरिकले सहयोग गर्लान् कि नगर्लान् भन्ने विषय सबैका लागि चासोको विषय बनेको छ । यदि महानगरपालिकाले मानव स्वास्थ्यका लागि हानिकारक वस्तुलाई नियन्त्रण र प्रतिबन्ध लगाउने विषयमा देशव्यापी रूपमै अभियानलाई प्राथमिकता दिएमा नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण हुन समय लाग्दैन ।

सरकारले कर संकलनका लागि मानव स्वास्थ्यका लागि हानिकरक वस्तुलाई प्रोत्साहन गर्दै आइरहेको छ । सुर्तीजन्य पदार्थको सेवनका कारण वर्षेनी क्यान्सरका विरामी ६० प्रतिशत अस्पताल भर्ना हुने गरेका छन् । सुर्तीजन्य पदार्थको सेवनले किशोर–किशोरीहरू नसामा पर्ने गरेका छन् । एक दिन नेपालमा सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाउने हो भने सयौँको संख्यामा मानिसहरू डिप्रेसनमा जाने अवस्था छ ।

सुर्तीजन्य पदार्थका कारण मानिसमा रोग लाग्नुका साथै गरिबी पनि दिनप्रतिदिन बढिरहेको छ । सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसहरूले दैनिक २० देखि १०० रुपैयाँसम्म बचत गर्न सकेको अवस्थामा कसैको गोजी खाली हुँदैन । धूमपान मद्यपान सेवनमा हरेक नागरिकले अधिक मात्रमा पैसा खर्च गर्ने गरेका कारण दैनिक रूपमा पैसाको अभाव हुने हुँदा पारिवारिक कलहसमेत बढ्ने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *