काठमाडौं।पाकिस्तानका राष्ट्रपति अरिफ अल्वीले पाकिस्तानी तल्लो सदन विघटन गरेका छन्।
राष्ट्रपति अल्वीले वर्तमान सरकारको कार्यकालको अन्त्य गर्दै निवर्तमान प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा बुधबार मध्यरातबाट लागू हुनेगरी संसद भंग गरेका हुन्।
यसैबीच, कार्यवाहक प्रधानमन्त्रीको नाम टुंगो लगाउन संविधान बमोजिम प्रधानमन्त्री शहबाज शरिफ र राष्ट्रियसभाका विपक्षी नेतासँग अब तीन दिनको समय दिइएको छ। तर नाममा सहमति हुन नसकेमा ३ दिनभित्र अन्तरिम प्रधानमन्त्रीका लागि नाम टुंगो लगाउने जिम्मा सभामुखलाई हुनेछ। तोकिएको अवधिभित्र निर्णय गर्न नसकेमा उम्मेदवारहरूको नाम पाकिस्तानको निर्वाचन आयोगमा पठाइन्छ। अन्तिम टुंगो भने आयोगले गर्नेछ। संसद् विघटनपछि अब ९० दिनसम्म अन्तरिम सरकारले चुनावी प्रशासन सम्हाल्नेछ।
वर्तमान संसद्को कार्यकाल यही अगस्ट १२ मा सकिँदै थियो। संसद्मा बोल्दै शरिफले इमरान खान नेतृत्वको सरकारको लापरबाही र असफलता आफ्नो १६ महिने कार्यकालको टाउको दुखाइ बनेको बताएका थिए।
उनले अघिल्लो सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सम्झौता भङ्ग गरेर देशको प्रतिष्ठामै असर पुर्याएको आरोप पनि लगाए। सम्बोधनको अधिकांश समय उनले इमरान खान सरकारको आलोचनामा खर्चिएका थिए। अन्तरिम सरकार गठनका विषयमा भने उनले विपक्षी दलका नेता राजा रियाजसँग छलफल गर्ने जनाएका छन्।
निर्वाचन आयोगले भ्रष्टाचार अभियोगमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाएको भोलिपल्टै प्रधानमन्त्री शरिफले संसद् विघटनको कदम चालेका हुन्।
आयोगले सूचना जारी गर्दै खानलाई उनको चुनाव क्षेत्रबाट निर्वाचित उम्मेदवारको सूचीबाट समेत हटाइएको जनाएको छ। गत अप्रिलमा संसद्मा पेस भएको अविश्वासको प्रस्ताव पारित भएपछि इमरान खान नेतृत्वको सरकार ढलेको थियो।




