विचार

सरकारी विद्यालय सिध्याउन अनेक खेल, विभिन्न नाटक गरेर विद्यार्थी तान्दै निजी विद्यालय

अहिले निजी विद्यालयहरूले विद्यार्थीभन्दा ठूलो ब्याग दिन थालेका छन् । सरकारी स्कुलमा पढ्नेहरूको झोलामा किताब नै हुँदैन । उनीहरू बाटोमा दौडिरहेका देखिन्छन् । न तिनलाई बाबुआमा चाहिन्छ, न झोला बोक्ने कुनै साथी ।

ठूलै क्लास पढ्ने भए पनि निजीमा पढ्ने विद्यार्थीलाई लिन नगई हुँदैन । कोहीकोही मरिमरी झोला बोकेर हिँडिरहेका हुन्छन् । जसले गर्दा उसको स्वास्थ्यमा हानि पुगिरहेको छ । निजीमा पढ्ने विद्यार्थीलाई गेटभित्रसम्म छिराएर अभिभावक फर्किन्छन् । गाडीमा जाने रहेछ भने स्कुल बसभित्रसम्म पुर्याउँछन् ।

तर, सरकारी विद्यालयका आफ्ना छोराछोरी पढाउने अभिभावकलाई यो सम्भव छैन । भर्ना गरिदिएपछि आफैं विद्यालय जाऊ, आऊ भन्ने गरिन्छ । चार पाँच वर्षकै विद्यार्थी किन नहोस् बाटोमा स्कुल ड्रेसमा हिँडिरहेको देखिन्छ ।

ऊ आफैं जान्छ, आफैं घर फर्किन्छ । बाटोमा भएका राम्रा नराम्रा कुराहरू उसले देख्छ । बाटोमा हिँड्न जान्छ, मान्छेसँग बोल्न सिक्छ । भलै ऊ पढाइमा कमजोर किन नहोस्, उसले व्यावहारिक ज्ञान भने प्रशस्तै हासिल गर्दछ । सरकारी विद्यालयमा पढ्ने विद्यार्थीले सानै उमेरमा जुत्ताको तुना बाँध्न सिक्छन् । बाटोमा हिँड्दाहिँड्दै चप्पल चँुडियो भने गाँसेर घर फर्किन उनीहरूले सिकेका छन् ।

१२–१५ वर्ष पुगेका निजी विद्यालयका विद्यार्थीले जुत्ता लगाउन जानेका हुँदैनन् । बाबुआमाले लुगादेखि जुत्तासम्म लगाइदिनुपर्छ । ठूल्ठूला विद्यार्थीलाई समेत अभिभावकले आफैंले खाना खुवाएर पठाउँछन् । अनि यस्ता विद्यार्थीले भोलिका दिनमा के गर्छन् ? अभिभावकले नै आफ्नो छोराछोरी बिगार्ने काम गरिरहेका छन् । निजी विद्यालयले घोकन्ते शिक्षा दियो, तर व्यावहारिक शिक्षा दिन सकेन । निजी विद्यालयमा पढेका विद्यार्थीहरूसँग दुःखसुःखका परिस्थिति खेप्न सक्ने आँट नै हुँदैन ।

मार्कसिटमा राम्रो नम्बर ल्याएर के गर्नु, जिन्दगीमा पास हुन नसकेपछि ? निजी विद्यालयमा पढेका विद्यार्थीको योजना नै १२ कक्षा सकाउने र विदेश जाने मात्रै छ । उनीहरूलाई सुखसुविधाको जिन्दगी चाहिएको छ । तर, विदेशमा सोचेजति सजिलो छैन भन्ने कुरा यिनीहरूलाई थाहा छैन । दुःख गर्न नसक्नेले जहाँ गए पनि केही गर्न सक्दैन । विकसित मुलुक पुगेका कतिपय नेपाली विद्यार्थीले आत्महत्याको बाटो रोजिरहेका छन्, किन ? त्यहाँको कामको चाप सहन नसकेर उनीहरूले आत्महत्या गरेका हुन् ।

निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूले नेपाली बोल्नै छोडिसकेका छन् । बाटोमा हिँडेका कसैले प्रश्न सोध्यो भने उनीहरू जवाफ नै दिँदैनन् । पहिलो कुरा त उनीहरू बोल्दैनन्, जवाफ दिए पनि अंग्रेजीमा बोल्छन् । सबैलाई अंग्रेजी आउँदैन । उनीहरूले जवाफ दिए पनि के फाइदा ? बाबुआमा पनि आफ्नो छोराछोरीले अंग्रेजी बोलिदिँदा मख्ख पर्छन् । तर, त्यसले राष्ट्रिय भाषालाई नै जोखिममा पारेको छ । निजी विद्यालयले ज्ञान दिने होइन्, विदेश पठाउने जनशक्ति तयार पारिरहेका छन् ।

यसबाट सरकारले ठूलो क्षति व्यहोर्नुपरेको छ । निजी विद्यालयमा पढाउँदा आफ्नो शान बढेकोजस्तो गर्छन् अभिभावक । छोराछोरी निजी विद्यालयमा पढाउन होडबाजी चलेको छ । कसले महँगो स्कुलमा पढाउने ? भन्नेतिर मात्र अभिभावकको ध्यान छ । ज्ञान होइन, महँगो शुल्कलाई प्राथमिकतामा राखेर हेर्न थालिएको छ । घरखेत बेचेर छोराछोरी पढाउने क्रम जारी नै छ ।

राष्ट्रसेवक कर्मचारी भनिएकाहरूको छोराछोरी महँगा स्कुलमा पढ्छन् । सरकारी जागिर खान यहाँ भनसुन गर्नुपर्छ । पहुँच चाहिन्छ । सरकारी जागिर खाइसकेपछि उनीहरू म यति पदको हाकिम हुँ भन्दै हिँड्छन् । उनीहरूलाई आफू सरकारी जागिरे हो भन्ने लाज लाग्दैन । सरकारी गाडी चढेका छन् । जनताले तिरेको करबाट तलबभत्ता खाएका छन् । तर, तिनलाई नै आफ्नो छोराछोरी सरकारी विद्यालयमा पढाउन लाज लाग्छ ।

बाटोमा चटपटे बेचेर हुन्छ कि साग बेचेर, छोराछोरी निजी विद्यालयमा पढाउनुपरेको छ । उनीहरूलाई पनि आफ्नो सन्तान सरकारीमा पढाउन लाज लाग्छ । फुटपाथ ढाकेर पसल थाप्दा उनीहरूलाई केही फरक पर्दैन । आफ्नो कारणले दुर्घटना भएको उनीहरू देख्दैनन् । जसरी हुन्छ छोराछोरी निजीमा पढाउनु छ । अहिले शिक्षामा राजनीति भइरहेको छ । निजी विद्यालयले विज्ञापन गरेर आफ्नो व्यापार बढाइरहेको छ । मुलुकमा सञ्चालित सरकारी स्कुलहरू विद्यार्थी नभएर बन्द हुने अवस्थामा पुगेका छन् ।

यस्तो अवस्था आउनुको पछाडि सरकार नै कारण हो । हरेक वर्ष राष्ट्रसेवकका कर्मचारी सरकारीमै पढाउनुपर्ने घोषणा गरिन्छ । तर, त्यो कार्यान्वयन भइरहेको छ त ? बाबुआमा सरकारी विद्यालयमा पढाउँछन्, छोराछोरी निजीमा लगेर पढाउँछन्, किन ? किनकि उनीहरूलाई आफूले दिएको पढाइले विद्यार्थी पास हुन्छन् भन्ने विश्वास नै छैन । अर्काको छोराछोरीको भविष्य अन्धकार बनाउने काम सरकारी विद्यालयका शिक्षकहरूले गर्दै आइरहेका छन् ।

सरकारले सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई दिवा खाजा भनेर दैनिक १५ रुपैयाँ दिने गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले १० रुपैयाँ थपिदिएर २५ रुपैयाँ बनाएका छन् । एक सयजना विद्यार्थी छ भने तीन सयको बिल काटिदिन्छन् । सरकारले विद्यार्थीका लागि दिएको खाजा रकमबाटै आफूहरूको खाजाको पनि बन्दोबस्त मिलाउँछन् । सरकार नियमन गर्न आउँदैन । शिक्षकशिक्षिकालाई मोज भइरहेको छ । स्कुलमा ५० लाखको बजेट आयो भने ४५ लाख त भ्रष्टाचार नै गर्छन् ।

पाँच लाखको काम गर्छन्, अरु सबै खल्तीमा हाल्छन् । स्कुलमा बनेको सटरहरू पनि भाडामा लगाएर खान्छन् । राज्यको ढुकुटीमा जाँदैन । सरकारले विद्यार्थीलाई दिएको सामानहरू पनि शिक्षकशिक्षिकाले आफ्नो घरतिर दौडाउँछन् । सरकारी विद्यालयमा पढाउने शिक्षकशिक्षिकाको अझै पनि पुरानो सोचाइ छ । विद्यार्थीलाई कुट्नुपर्छ, उठबस गराउनुपर्छ, शौचालयमा लगेर थुन्नुपर्छ भन्ने सोच उनीहरूमा छ । शिक्षकशिक्षिकाले कुट्दा कतिपय विद्यार्थीको ज्यान नै गएको घटना छ ।

स्कुल ड्रेसमा नआउने विद्यार्थीलाई दिनभर लाइनमा उभाएर राखिदिन्छन् । बुवाआमासँग पैसा हुँदैन अनि विद्यार्थीले कहाँबाट ड्रेस ल्याउनू ? शिक्षकशिक्षिकाले यो कुरा बुझ्दैनन् । सरकारले शिक्षाका लागि अर्बाैं बजेट छुट्याएको छ । तर, के काम लाग्यो ? पोसाक नहुँदा विद्यार्थीले पढ्न पाउँदैनन् । नेपालको संविधानले स्वास्थ्य र शिक्षालाई निःशुल्क गरेको छ । तर, व्यवहारमा त्यो लागू हुन सकेन् ।

जुत्ता किन्न नसक्ने, ड्रेस किन्न नसक्नेले त पढ्नै नपाउने अवस्था सिर्जना भयो ।लागू हुन नसक्ने संविधान किन चाहियो ? च्यातिदिए हुन्छ । सरकारी विद्यालय भनिएको छ, तर भर्ना र मासिक शुल्क बुझिरहेका छन् । शिक्षा निःशुल्क हुन सकेन । शिक्षकशिक्षिकाले विद्यार्थी बढाउनुको साटो घटाउने काम गर्दै आएका छन् । कुटाइ खाने भएपछि को विद्यालय आउँछ ? बुवाआमाले त छोराछोरी कुट्न पाउँदैन, शिक्षकशिक्षिका को हुन् ? आफ्नो छोराछोरी कुटाउन अभिभावकले विद्यालय पठाएका त होइनन्, होला ? बुवाआमा गरिब होलान्, तर आफ्नो बच्चा कुटेको कसैले सहन सक्दैन् ।

शिक्षकशिक्षिका नपढाउने अनि होमवर्कको भारी दिएर पठाउने । विद्यार्थीले कसरी होमवर्क गरोस् ? होमवर्ककै कारण कतिपय विद्यार्थीले बीचमै पढाइ छोडेको घटना पनि छन् । अभिभावक गुमाएका, आर्थिक कमजोर भएकालाई विद्यालय आउने वातावरण मिलाइएको छैन । ससाना बालबालिका बाटोमा मागेर खाइरहेका छन् । उनीहरूको पनि पढ्ने पाउने हक त होला नि ? तर, न सरकारीले उनीहरूले खान, लाउन र पठनपाठनको व्यवस्थापन मिलाउँछ न निजी विद्यालयले ।

सरकारी स्कुलमा पढ्ने विद्यार्थीलाई सरकारले छात्रवृत्ति दिने नीति बनाएको छ । तर, त्यहाँ पनि भेदभाव हुँदै आइरहेको छ । आफ्नालाई छानिछानी छात्रवृत्ति दिन्छन्, गरिब त नाम मात्रको हो । सरकारका शिक्षकशिक्षिकाहरू राजनीतिक पार्टीको झोले बनेर हिँडेका छन् । उनीहरूको व्यवहार सहन नसक्ने छ । निजी विद्यालयमा नौटंकी माया गर्ने क्रम चलेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *