खेलकुद

नेपालसँग ओमान ८४ रनले पराजित, सन्दीपको कीर्तिमान

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा ओमानका खेलाडी अकिब इलयास घाइते भएर ब्याटिंग गर्न नसकेपछि नेपालले खेल ८४ रनले जितेको हो ।

नेपाललाई महत्वपूर्ण जित दिलाउन नेपाली बलर सन्दीप लामिछाने र करण केसीले ३-३ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले २ तथा ललित राजबंशीले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले कुशल मल्लको एक सय आठ रनको मद्दतमा तीन सय १० रन बनाएको थियो । नेपालका सोमपाल कामीले अर्धशतक बनाएका थिए ।त्यस्तै भिम सार्कीले ३३, करण केसीले अविजित २९, आरिफ शेखले २९, कप्तान रोहित पौडेलले २३ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ७, सन्दीप लामिछानेले ८ तथा कुशल भुर्तेल र आसिफ सेखले शुन्य बनाएर आउट भएका थिए ।

यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म बनाएको उच्च रन हो । नेपालले यसअघि पीएनजीविरुद्ध टियु मैदानमै मार्च ९ मा २९७ रन बनाएको थियो । ओमानका लागि मोहमद नदीमले सर्बाधिक ६५ रन बनाए भने सन्दीप गोउडले ४६ रन बनाएका थिए । त्यस्तै आयान खानले २९, कश्यप प्रजापतिले २५, जतिन्दर सिंहले १५, आदील सिंहले १३ र फयाज बटले १९ रन बनाएका थिए ।

सन्दीपको किर्तिमान

सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् । सन्दीपले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने नयाँ किर्तिमान बनाएका हुन् । योसँगै सन्दीपले ४२ खेलमा १०० विकेट लिएर एकदिवसीय क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । यसअघि एकदिवसीय क्रिकेटमा सबैभन्दा कम खेलमा १०० विकेट लिने रेकर्ड रासिद खानको नाममा रहेको थियो ।

आज ओमानविरुद्ध जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा सन्दीपले ओमानका आदील शफिकलाई आउट गर्दै यो रेकर्ड बनाएका हुन् । राशिदले ४४ खेलमा सय विकेट लिएर यो रेकर्ड बनाएका थिए । उनले २०१८ को मार्च २५ मा वेस्टइन्डिजविरुद्धको खेलमा यो रेकर्ड आफ्नो नाममा बनाएका थिए । उनले त्यसबेला अस्ट्रेलियाका मार्क स्टार्कको ५२ खेलमा सय विकेटको रेकर्ड तोड्दै आफ्नो नाममा लेखाएका थिए ।

कुशलको शतक

ब्याट्सम्यान कुशल मल्लले ओमानविरुद्ध शानदार शतक बनाएका थिए । कुशलले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै शतक पुरा गरेका हुन् । उनको यो पहिलो एकदिवसीय शतक हो । कुशल नेपालका लागि एकदिवसीय शतक बनाउने छैटौं खेलाडी बनेका छन् । नेपालका लागि यसअघि पारस खड्का, आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाएका छन् ।

यो जितपछि एसीसी प्रिमियर कपको समुह ए मा लगातार दोस्रो जित हासिल गरेको छ । समुह ए मा नेपालको २ खेलमा ४ अंक भएको छ र नेपाल शिर्ष स्थानमा रहेको छ । त्यस्तै ओमानको भने २ खेलमा एक जित र एक हारसहित २ अंक रहेको छ । अब नेपालले अर्को खेल आगामी सोमबार मुलपानी क्रिकेट मैदानमा साउदी अरेबियाविरुद्ध खेल्दै छ । त्यस्तै ओमानले अर्को खेल आइतबार मलेसियाविरुद्ध मुलपानीमै खेल्दै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *