राजनीति

संघीय सरकारसँग के चाहन्छन् बालेन ?

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले शनिबार बिहान एकाएक आइतबारदेखि सिंहदरबार क्षेत्रको फोहोर नउठ्ने घोषणा गरे । सो दिन दिनभर बालेनको स्टाटस भाइरल बन्यो । नभन्दै आइतबार बिहानदेखि सिंहदरबार क्षेत्रका फोहोर उठ्न छाडेको छ ।

अहिले सिंहदरबारभित्र र बाहिर फोहोर थुप्रिन थालेको छ । आइतबार सिंहदरबार क्षेत्रमा मात्र होइन, महाराजगन्जस्थित राष्ट्रपति कार्यालय शीतल निवासमा पनि फोहोर उठेन । फोहोर नउठेपछि राष्ट्रपति कार्यालयले सोमबार बिहान फोहोर संकलनकर्ता संस्थालाई फोन गरेको थियो ।

सोमबार बिहानै मेयर बालेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आफू बसेको फोटोसहित लामो स्टाटस फेसबुकमा राखे । जसमा फोहोर नउठाउनुको १४ बुँदे प्रस्टीकरण पनि दिए । बालेनले आफूले संघीय सरकारका १४ वटा मन्त्रालयसँग फोहोर व्यवस्थापन र काठमाडौं महानगरको विकासमा समन्वय र सहजीकरण गर्न पटकपटक आग्रह गरेको मितिसहित खुलाए । जसलाई लिएर सामाजिक सञ्जाल र मिडियामा सरकारको आलोचना हुन थालेको छ । त्यसैले सोमबार चितवन पुगेका गृहमन्त्री श्रेष्ठले बालेनको हर्कतको आलोचना गरेका हुन् ।

उनले संघीय सरकारसँग स्थानीय सरकारले निहुँ खोजेको पनि टिप्पणी गरे । बालेनले सिंहदरबारका नेताहरूलाई सिसडोलमै डम्प गर्नुपर्ने स्टाटसले सबैलाई चिढ्याएको छ । सोमबार संसदमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मेयर साहको अभिव्यक्ति र शैलीमा असन्तुष्टि जनाए पनि प्रधानमन्त्री प्रचण्डलाई तत्काल महानगरसँग छलफल गर्न सुझाव दिए । बालेनले नेताहरू लक्षित स्टाटस गगनलाई पनि मन नपरेको उनको सम्बोधनले प्रस्ट पार्छ ।

आखीर बालेन के चाहन्छन् त ? अहिले सबैको चासो यसमै छ । काठमाडौंको मेयर जितेपछि बालेनले यो एक वर्षमा कुनै पनि मिडियालाई अन्तर्वार्ता दिएका छैनन् । उनले सामाजिक सञ्जाललाई नै आफ्नो विचार प्रस्तुत गर्ने थलो बनाएका छन् । महानगरको समस्या समाधान गरिदिन भन्दै प्रधानमन्त्री, नेता, कर्मचारी भेट्ने, तर त्यहाँ के के भए ? कसले के भन्यो ? भन्ने जवाफ उनी मिडियामा ल्याउन चाहँदैनन् । उनी सिधै सामाजिक सञ्जालमा पोस्ट गर्छन् र बेपत्ता हुन्छन् । जसले गर्दा बालेनमा स्वेच्छाचारी प्रवृत्ति बढेको, अहंकार टुप्पोमै पुगेको सबैले अनुमान गरेका छन् ।

बालेन संघीयता मन पराउँदैनन् । जुन कुरा उनले गत मंसिर ४ मा भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्यलाई मतदान गरेर प्रदेश सभा सदस्यलाई भोट नहाली हिँडेकोले प्रस्ट पार्छ । उनी आफूलाई प्रतिनिधिसभा सदस्यभन्दा पनि ठूलो भएको ठान्छन् । काठमाडौं महानगरपालिकामा प्रत्यक्षतर्फ सातजना प्रतिनिधिसभा सदस्य छन् । तर उनी कोहीसँग महानगरको समस्या समाधानका लाथि सल्लाह, सुझाव र परामर्श गर्न चाहँदैनन् ।

महानगरको काम आफूले मात्र गर्ने हो, अरुले गर्दैनन् भन्ने उनमा दह्रोसँग जरा गाडेको छ । बालेन काठमाडौंका नदी किनारमा रहेका सुकुम्बासी हटाउन चाहन्छन् । त्यसमा संघीय सरकारले सहयोग र समन्वयकारी भूमिका निभाइदिए हुन्थ्यो भन्ने चाहना उनको छ । पहिले थापाथलीका सुुकुम्बासी हटाउन खोजे । असफल भए । शुक्रबार सिनामंगल–बानेश्वरका सुकुम्बासी बस्ती हटाउन खोजे । तर गृह र सहरी विकास मन्त्रालयले सहयोग नगरेको भन्दै उनी आक्रोशित भए । त्यही कारण उनले शनिबार बिहानै सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका हुन् । यसले अब सिधै सिंहदरबार र बागदरबारबीच टकरावको अवस्था सिर्जना भएको छ । अब यसमा प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनमध्ये को बलियो भन्ने चाँडै पुष्टि हुन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *