नेपालीमा एउटा उखान चर्चित छ, ‘हातले पैसा दिँदा खुट्टालाई दुःख ।’ पैसा लिने बेला हाँसीहाँसी लग्ने, तर फिर्ता गर्ने समयमा कि त कालो मुख लगाउने, नभए भागेर हिँड्ने । साथीभाइ वा नातेदारलाई ऋण दिएमा भोलि त्यही पैसाका कारण साथीभाइ र नातेदार नै त्याग्नुपर्ने हुन्छ ।
पछिल्लो समय विश्वासको भरमा ब्याजको प्रलोभनमा परी सर्वसाधारणले सहकारीमा आफूले जीवनभर दुःख–सुख गरेर कमाएको रकम राखे । तर, सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेपछि अहिले उनीहरूमध्ये कोही गुण्डा लिएर जान्छन् त, कोही राजनीतिक दलका नेता वा अभियन्ता । यसो गर्दा पनि पैसा फिर्ता नगरे सहकारीमा भएको सामग्रीहरू धमाधम उठाउने । बजारबाट पैसा उठाइरहेका बजार प्रतिनिधिलाई पनि थर्काउने वा हातपात गर्ने गर्छन् ।
पछिल्लो समय सहकारीमा काम गर्ने कर्मचारीहरू सहकारीका सञ्चालक र अध्यक्षका कारण असुरक्षित महसुस गरिरहेका छन् । त्यसैले, कतिपयले अहिले काम नै छोडिसकेका छन् । तर यिनीहरूमार्फत बचतकर्ताले राखेको रकम आज डुब्ने अवस्थामा पुगेको छ । बचतकर्ताले विश्वासमा परेर पैसा राखे, तर कर्मचारीहरूले आफू असुरक्षित हुनेबित्तिकै जागिर छाडेपछि अब बचतकर्ता जाने कहाँ ?
- अहिले ग्रामीण भेगदेखि सहरसम्मै सहकारीहरू भागिसकेका छन् वा डुबिसकेका छन् भनेर सबैले थाहा पाइसकेका छन् । जोहीकोही सहकारीले आफ्नो रकम डुबाइदिएको वा सहकारी नै भागेको बताउँछन् । अहिले अधिकांशले सहकारीमा रकम जम्मा गर्न छोडिसकेका छन् ।
बचतकर्ताले विश्वासको भरमा सहकारीमा रकम जम्मा गरेका थिए । सहकारीले बाटामा साग बेच्नेदेखि घरधनीसमेतलाई ठग्न बाँकी राखेन । यिनीहरूले यतिसम्म गर्छन् भनेर बचतकर्ताले कल्पनासम्म गरेका थिएनन् । मर्नुभन्दा बौलाउनु ठिक छ भनेझैं अहिले सहकारीमा रकम राख्नेहरूको यस्तै हालत भएको छ । विश्वासको आडमा आफूले जीवनभर कमाएको रकम सहकारीमा राख्दा आज उनीहरूको बिल्लीबाठ भएको छ । सहकारीबाट पीडित भएका बचतकर्ताहरूमध्ये कुनै आन्दोलन गर्न थालिरहेका छन् त, कुनै सहकारीविरुद्ध उजुरी हाल्न वडा कार्यालय, नगरपालिका, महानगरपालिका र प्रहरी प्रशासन धाइरहेका छन् ।
कतिपय बाठा बचतकर्ताहरूले थर्काएर वा तोडफोड गरेर आफ्नो पैसा असुलीरहेका छन् । तर जो बचतकर्ता अशिक्षित छ वा सोझासिधा छन्, उसैलाई सहकारीहरूले ठगिरहेका छन् । ७५ प्रतिशत अशिक्षित व्यक्तिहरूको सहकारीमा रकम छ, तर यिनीहरूको अर्बौं रकम आज डुब्ने अवस्थामा पुगेको छ ।
अहिले सबै सहकारीमा पैसा निकाल्नेको लाम छ, तर बजारबाट पैसा उठाउनेहरू भने शून्यझैं भइसकेका छन् । सहकारीमा रकम जम्मा गर्नेहरूको १० हजारदेखि १० करोडसम्म रकम डुबेको पाइएको छ । तर अझै पनि सहकारीहरू हामी भाग्दैँनौ वा हामी डुबेका छैनौँ भनी भ्रम फैलाएर बचतकर्तासँग रकम असुलीरहेका छन् । दर्ता भएका आधाभन्दा बढी सहकारी भागिसकेका छन् । विज्ञापन बोर्डले भने अहिलेसम्म सहकारीमा पैसा नराख्नुस् भनेर सर्वसाधारणलाई सचेत गराएको छैन ।
विज्ञापन बोर्ड पनि सहकारीकै पक्षमा उभिएको छ र सर्वसाधारणको हितमा बोलेको छैन । बोर्डले अन्य विषयका बारेमा सर्वसाधारणलाई सचेत गराउँछ, तर सहकारीले यत्रो सर्वसाधारणलाई पीडित बनाउँदा किन बोर्ड मौन बस्छ रु यसबाट त बोर्ड पनि बिकेको स्पष्ट हुन्छ नि ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राई र सचिव डा. दामोदर रेग्मी सहकारीले यत्रो बचतकर्ताको बिल्लीबाठ बनाउँदा पनि कानमा तेल हालेर बसिरहेका छन् । उनीहरूको पनि बचतकर्ता डुबाउनुमा केही न केही मिलोमतो छ भनेर अहिले सर्वसाधारण बुझ्छन् । सहकारी विभागका महानिर्देशक नवराज घिमिरे न त्यस्ता सहकारीको दर्ता नै खारेज गर्छन् न त्यस्ता सहकारीलाई कारबाही नै गर्छन् । दिनमा सयौँ बचतकर्ता सहकारीले आफ्नो रकम डुबाइदिएको भन्दै उजुरी तथा गुनासो गर्न सहकारी विभाग आउँछन्, तर महानिर्देशक कानमा तेल हालेर बसेका छन् ।
सहकारीमा महिनाभरि काम गरेको सात हजारदेखि १० हजारसम्म तलब दिन्छ । तर, न कर्मचारीको बीमा नै गराएको हुन्छ न अन्य सेवासुविधा नै दिन्छ । बजार प्रतिनिधिहरू बजारबाट पैसा उठाएर ल्याउँछन् अनि त्यो पैसामा सहकारीका सञ्चालक र अध्यक्षहरू मोजमस्ती गर्छन् । संस्थाका सञ्चालक र अध्यक्षहरू १ बजे कार्यालय आउने, तर महिनाको तलब ५० हजारदेखि एक लाखसम्म खाने गरेका छन् ।
२० लाख मूल्य बराबरको जग्गालाई घुस, सेवाशुल्क र चर्को ब्याज लिएर २० लाख नै कर्जा प्रवाह गर्ने त बैंकले सय रुपैयाँमा निष्कासन गरेको सेयरलाई पनि २५ सयसम्म कर्जा प्रवाह गर्ने गरेका छन् ।




