काठमाडौँ । निर्वाचन आयोगका पदाधिकारीले आज (बुधबार) संघ र प्रदेशको चुनावको मिति सिफारिसका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै छन् ।
आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने आयोगको तयारी छ । भेटका लागि प्रधानमन्त्रीको समय लिइसकेको एक आयुक्तले जानकारी दिए । १२० दिन समय राखेर अबको एक साताभित्रै वा त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन मिति घोषणा गर्न सकिने आयोगको सुझाव छ ।
आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको पनि बताइएको छ । भर्खरै सकिएको स्थानीय तहको चुनाव देशैभर एकै पटक गराउन सकिएको भन्दै प्रदेश र संघको चुनाव पनि एकै दिन गर्नका लागि आयोगले मिति सिफारिस गर्न लागेको हो । यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन सँगसँगै भएको थियो ।
संविधान अनुसार निर्वाचन आयोगको परामर्शमा सरकारले चुनावको मिति घोषणा गर्ने प्रचलन छ । निर्वाचन आयोगले बुधबार नै सरकारलाई मिति प्रस्ताव गरे पनि क्याबिनेटलाई साउनको दोस्रो सातापछि मात्रै चुनाव घोषणा गर्ने सुविधा छ । सरकारले १२० दिनको समयावधि राखेर चुनावको मिति घोषणा गर्नुपर्ने हुन्छ । आयोगले आगामी मंसिर २२ सम्म प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल रहने भनेका कारण साउन २२ भित्र चुनावको मिति घोषणा गरिसक्नुपर्ने हुन्छ ।




