काठमाडौं । कांग्रेसको बुई चढेर सरकारमा पुगेको र स्थानीय तहको निर्वाचनमा उल्लेख्य सफलता हासिल गरिसकेपछि अहिले फेरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई सिध्याउने धम्की दिएका छन् । दम्भकै कारण हिजो एमाले सकियो, अब कांग्रेसको दम्भ तोड्छौं भनेर उनले सार्वजनिक रूपमै बोलिसकेका छन् । यसले अबको नेपालको राजनीति फेरि अस्थिरतातिर धकेलिने त होइन भन्ने संकेत गरेको छ ।
प्रचण्डले अहिले मात्र होइन, पटक पटक कांग्रेसलाई धम्की दिँदै आफ्नो राजनीतिक पावर बढाउँदै आएका छन् । पाँच वर्षअघि पनि उनले कांग्रेसलाई प्रयोग गरेर छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर जिताए । साढे तीन वर्षसम्म एमालेसँग मिलेर सरकार बनाएर पछि कांग्रेससँग घाँटी जोडेका प्रचण्डले यसपटक पनि रेनुलाई भरतपुरको मेयरमा दोहोर्याउन सफल भएका छन् ।
निर्वाचनअघि उनले भरतपुरमा रेनुले नजिते देश दुर्घटनामाा पर्ने धम्की दिएका थिए । त्यसबेला उनले मतदातालाई धम्क्याएको भन्दै उनको चौतर्फी आलोचना भयो । एमाले अध्यक्ष ओलीले त भरतपुरमै आयोजित चुनावी सभामा प्रचण्डले मतदातालाई डर धम्की दिएको आरोप लगाए । प्रचण्डविरुद्ध निर्वाचन आयोगमा समेत उजुरी परेको थियो । उनले आफूले डर धम्की नदिएको दाबी गरेका थिए ।
नेपालमा राजनीतिक अस्थिरताको मुख्य कारक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भएको पटक पटक पुष्टि हुँदै आएको छ । एमाले अध्यक्ष केपी ओलीले त १० वर्षअघिदेखि यो भन्दै आएका छन् । एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा गठन हुँदा पनि नेपालमा राजनीतिक स्थिरता देखिएन । प्रचण्डकै कारण ओली नेतृत्वको सरकार ढल्यो । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भयो ।
अहिले प्रचण्डले कांग्रेसलाई धम्की दिनुको पछाडि आगामी आमनिर्वाचनमा आफ्नो पावर बढाउन भएको सबैले अनुमान गरेका छन् । आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । प्रचण्ड अहिले नै प्रतिनिधिसभामा सिट बाँडफाँट होस् भन्ने चाहन्छन् ।कांग्रेसले आफूलाई धेरै सिट नदिए वाम तालमेल गर्ने उनको रणनीति देखिन्छ । सोही कारण असारभित्रै प्रतिनिधिसभाको सिट बाँडफाँट गर्न गठबन्धनको बैठकमा प्रस्ताव राखिसकेका छन् ।
प्रचण्डले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि आयोजित प्रशिक्षणमा कांग्रेसलाई सिध्याउने धम्की दिएलगत्तै कांग्रेस नेता रामचन्द्र पौडेलले त्यस्तो धम्कीदेखि आफूहरू नडराउने बरु जस्तोसुकै परिणामका लागि तयार रहेको चुनौती दिएका छन् ।
लोकतन्त्रको रक्षाका लागि कांग्रेसले अहिलेसम्म कसैसँग सम्झौता नगरेको भन्दै पौडेलले अब फेरि एकपटक कम्युनिस्टसँग जुध्न कांग्रेस तयार रहेको सन्देश दिएका छन् । हिजो प्रचण्डको भनाइमा लागेर गठबन्धन गर्न दबाब दिने पौडेलले अहिले उनलाई नै च्यालेन्ज दिनुले राजनीतिक कोर्ष अर्कैतिर जान लागेको संकेत गरेको छ ।




