काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणना अन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ ।
२९४ नगरपालिका र ४४७ गाउँपालिकाकासहित ९२ दशमलव १६ प्रतिशत स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।
मतगणना भएका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले १२२ मा जित हासिल गरी १६ स्थानमा अग्रता कायम गरेको छ । नेकपा एमालेले ६७ स्थानमा जित हासिल गरेको छ भने १४ स्थानमा अग्रता कायम गरेको छ ।
नेकपा माओवादी केन्द्रले प्रमुख पदमा २४ स्थानमा जित निकालेको छ भने २ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले ९ स्थानमा जित र दुई स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २४ स्थानमा विजय हासिल गरी ११ स्थानमा अग्रता कायम गरेका छन् ।
१८४ गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गरेको कांग्रेसले चार स्थानमा अग्रता कायम गरेको छ । एमालेले १२१ गाउँपालिका अध्यक्षमा जीत निकाल्दा २ स्थानमा अग्रता कायम गरेको छ ।
माओवादी केन्द्रले ९६ गाउँपालिकाको अध्यक्ष पदमा जीत निकालेको छ । जनता समाजवादी पार्टी नेपालले १९ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ ।




