रिबन

चुनाव चिन्ह्र पाउनु पर्ने साना दलका मागबारे आज छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । दलीय चुनाव चिह्नमा निर्वाचन लड्न पाउनुपर्ने माग राखेर आन्दोलनरत ३७ साना दलको मागबारे निर्वाचन आयोगले सोमबार राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएको छ ।

साना दलले दलीय चुनाव चिह्नमा निर्वाचन लड्न पाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिने चेतावनी दिएपछि निर्वाचन आयोगले छलफल अघि बढाएको हो

आयोगले साना दलको माग सम्बोधन गर्ने सम्बन्धमा कानुनविद्सँग पनि छलफल गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका हुन् । उनले भने, ‘आयोगले साना दलको माग कुन रूपमा सम्बोधन गर्न सकिन्छ भनेर छलफल गर्न सोमबार राजनीतिक दलहरूसँग बैठक राखेको छ, कानुनविद्सँग पनि छलफल गर्दै जाने छौं ।’ उनले साना दलहरू दलीय चिह्नमा चुनाव लड्न अहिलेको मौजुदा ऐनले नदिने भएकाले ऐनको अधीनमा रही के गर्न सकिन्छ भनेर छलफल गर्न लागिएको बताए ।

निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि मतपत्रमा स्वतन्त्र समूहमा रहेको चुनाव चिह्न दिन सकिने विकल्पमा पनि छलफल भइरहेको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने– ‘यसअनुसार कुनै दलले मतपत्रको स्वतन्त्र समूहमा रहेको चुनाव चिह्न रोज्ने र सोही चिह्न लिएर ती दलका देशभरका उम्मेदवारले चुनावमा भाग लिन सकिने विषयमा कुराकानी भइरहेको छ ।’

साना दलले राष्ट्रिय मानव अधिकार आयोग र निर्वाचनमा आयोगमा पनि दलीय चुनाव चिह्नमा निर्वाचन लड्न पाउनुपर्ने माग राखेर ज्ञापन बुझाइसकेका छन् । स्थानीय तह निर्वाचन ऐन २०७३ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय दलको मान्यता प्राप्त दलले मात्रै दलीय चुनाव चिह्न पाउने भनेको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा स्थानीय तहको निर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न वितरण गर्नेसम्बन्धी व्यवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *